बागमतीको विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ सुरु गरिने
हेटौंडा- बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो ।
निर्देशनालयले कुल एक करोड ८१ लाख ५० हजार रुपैयाँ खर्च गरेर विद्यालयमा आएका विद्यार्र्थाीलाई जीविकोपार्जनमा समेत जोड्नेगरी कार्यक्रम गर्न लागिएको हो । यो कार्यक्रम प्रदेशका बिभिन्न विद्यालयमा लागू गर्नका लागि कार्यबिधि बन्ने चरणमा रहेको शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक पूर्णबहादुर दर्जीले साझाकुरालाई जानकारी दिए ।
बितेको आर्थिक वर्षमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आर्थिक वर्षमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको हो । विद्याथीहरु विद्यालयमा पढेर बाहिर निस्कदा पनि कुनैनकुनै जीविकोपार्जन गर्न सकोस भन्ने उदेस्यले यो कार्यक्रम सुरु गर्न लागिएको उनले बताए । अबको शिक्षा व्यवहारिक र जीविकोपार्जनसँग जोड्ने उदेस्यले प्रदेशका बिभिन्न जिल्लामा विद्यालयसँग कुन काम गर्न चाहेको हो आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने उनले बताए ।
बिशेषगरी विद्यार्थीलाई कृषिसँगका कार्यक्रम र प्रबिधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आमदानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउनेगरी अगाडि बढ्न लागिएको निर्देशक दर्जीले बताए । सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्वन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उनले बताए ।







