बस्तीपुरको बेकरीमा सिल, साढे २ लाख जरिवाना

साझाकुरा
२०८० श्रावण २०, शनिबार १३:१०

हेटौंडा- बेलाबखत मात्रै सरकारी अनुगमन टोली बजार अनुगमनमा पुग्ने गरेका कारण हेटौंडाको बजार क्षेत्रमा अखाद्य वस्तुको निर्वाध बिक्रीवितरण भइरहेको पाइएको छ । खाद्यवस्तुको उत्पादन तथा बिक्री बितरणमा स्थिति नाजुक अवस्थामा पुगेको देखिएको छ ।नियमित बजार अनुगमन हुन नसक्दा अखाद्य वस्तुको बिक्रिवितरणको सीमा नै नाघेको छ । तर, शुक्रबार जिल्ला अनुगमन टोलीले एक बेकरी उद्योगमै सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरसहित घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वमा रहेको अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो । अनुगमन टोलीले बेकरी उद्योगमा सिल गर्नुका साथै दुई लाख ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

अनुगमनका क्रममा उद्योगले गत ०७७ देखि कुनै पनि सरकारी संस्थामा नवीकरण नगरेको र खाद्य अनुज्ञापत्रसमेत नवीकरण नभएको पाइएपछि जरिवान
गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टीका शर्माले जानकारी दिएकी छन् । प्रमुख शर्माका अनुसार बेकरीले उत्पादन गरेको खाद्य सामग्रीमा अखाद्य वस्तु प्रयोग गरिएको, उत्पादित वस्तुमा लेबल नभएको, नापतौल उल्लेख नगरिएको, उद्योगमा उत्पादन तथा बिक्री तथा अनुमति नभएका गुट्खा, चकलेट, मिठाइलगायतका खाद्य सामग्री फेला परेको थियो ।

अनुगमन टोलीले उद्योगको एउटा मेसिन र उत्पादित सामग्री भण्डारण गरिएको कक्षमा सिल गरिएको छ । उद्योगलाई तीन दिनभित्र सम्बन्धित कार्यालयबाट नवीकरण तथा अनुज्ञापत्र नवीकरण गर्न र थप प्रक्रिया पूरा गर्न घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थति हुन निर्देशन दिइएको छ । यस्तै, अनुगमन टोलीले अनुगमनका क्रममा थप तीनवटा पसल तथा व्यवसायलाई जरिवाना गरी सचेत गराइएको छ । बस्तीपुरको सन्तोष किराना पसल, न्यु पराजुली स्टोर्स र दोर्जे सिन्तानले सञ्चालन गरेको किराना तथा मासु पसललाई १०–१० हजारका दरले जरिवाना गर्नुका साथै सचेत गराइएको प्रमुख शर्माले बताइन् ।

टोलीले सरसफाइ नगरेको, उपभोग्य मिति सकिएका सामग्रीहरु बेच्न राखेको, खरिद तथा बिक्री बिल नभएको र दर्ताबिना सञ्चालन गरेको पाइएपछि उनीहरुलाई जरिवाना गरिएको हो । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख शर्मासहित खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र उपभेक्ता हित संरक्षण मञ्चका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*