मकवानपुरमा प्रहरीका ८ भवन निर्माण

साझाकुरा
२०८० श्रावण २१, आईतवार ११:३९

हेटौंडा- बागमती प्रदेश सरकारको लगानीमा मकवानपुरमा ८ वटा प्रहरी भवन निर्माण भएका छन् । मकवानपुरमा प्रहरीका लागि थप भवन निर्माणको चरणमा पनि छ । प्रदेश सरकारले मकवानपुरमा मात्र नभई प्रदेशका सबै जिल्लामा प्रहरीका लागि आवश्यक भवन निर्माणका लागि बजेट बिनियोजन गरेर काम गर्दै आएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ । यतिबेला प्रहरीका लागि १८ वटा भवन निर्माणाधीन छन् ।

प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरीचौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब १० करोड ९९ लाख १३ हजार रुपैयाँ लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख ६ हजार रुपैयाँ खर्च हुने जनाएको छ । प्रदेश सरकारले मकवानपुरमा आठ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार, सिन्धुपाल्चोकमा तीनवटा भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।

मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरीचौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिंगन,
प्रहरीचौकी डाँडाखर्क, प्रहरीचौकी हात्तीसँुडे, प्रहरीचौकी ठुलोदमार निर्माण सम्पन्न भइसकेको छ । चितवनमा प्रहरीचौकी चैनपुर, प्रहरीचौकी सीतारामचोक, प्रहरीचौकी सुमेस्ररमाडी, प्रहरीचौकी कल्याणपुर माडी र प्रहरीचौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।

हालसम्म ६७ वटा प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशबाट सहयोग भइसकेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश सरकारले यसङ्घ अन्तर्गत रहेको प्रहरी भवन निर्माणमा अर्बौं रुपैयाँ खर्च गरिसके पनि प्रहरी समायोजन भने हुन सकेको छैन । बागमती प्रदेशले प्रदेश प्रहरी ऐन, २०७७
जारी गरिसकेको छ ।

संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन हुनेछ भनिएको छ । उपधारा ३ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानविभागसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने छ भनिएको छ । अर्थात् प्रदेश प्रहरी र संघीय कानुन दुवै संवैधानिक व्यवस्था हो ।यसैगरी, मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा चार जिल्लाका पाँच स्थानमा छ करोड ४४ लाख ६५ हजार लागतमा पाँचवटा प्रहरी भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीका अनुसार मकवानपुर, चितवन, सिन्धुली, रामेछाप र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्रहरी भवन निर्माण हुने बताए । चालु आवमा ९७ लाख ३३ हजार रुपैयाँ लागतमा चितवनको रत्ननगर टाँडी, ८४ लाख २२ हजार रुपैयाँमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा महिला ब्यारेक भवन, एक करोड ९८ लाख लागतमा मकवानपुरगढीमा इलाका प्रहरी कार्यालय, एक करोड ३३ लाख लागतमा सिन्धुली–४, खाङसाङ फिक्कलमा प्रहरीचौकी भवन र एक करोड ३२ लाख रुपैयाँको लागतमा रामेछापमा जिल्ला ट्राफिक कार्यालय भवन निर्माण हुने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*