उच्च अदालत हेटौंडाद्वारा एक वर्षमा १३१२ मुद्दा फछ्र्यौट
हेटौंडा- उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७९÷८० मा एक हजार ३ सय १२ मुद्दाको फछ्र्यौट गरेको छ । चितवन र मकवानपुर जिल्लाको मुद्दा हेर्ने इजलासले एक वर्षको अवधिमा कुल मुद्दाको ७५.३६ प्रतिशत मुद्दा फछ्र्याैट गरेकोे हो । अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका र बितेको आर्थिक वर्षमा दर्ता भएका मुद्दा समेत गरेर एक हजार ७ सय ४१ वटा मुद्दामध्ये ७५ प्रतिशत भन्दा धेरै मुद्दा फैसला गरिएको रजिष्ट्रार जगदीश प्रसाद भट्टले जानकारी दिए । यसैबीच उच्च अदालत हेटौंडा इजलासले बिहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।
अदालतमा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका मुद्दाहरु ४२९ वटा रहेका छन् । अदालतमा १८ महिना नाघेको तर, दुइ वर्ष नपुगेको मुद्दा एउटा मात्र रहेको र २ नाघेको मुद्दाहरु एउटा पनि नरहेको साखा अधिकृत केशब ढुंगानाले जानकारी दिए । गतवर्षबाट जिम्मेवारी सरेको मुद्दा ५४५ थान रहेका थिए । बितेको आर्थिक वर्षमा दर्ता भएका मुद्दा १ हजार १ सय ९६ थान रहेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाहरु ३० वटा मात्र फैसला हुन बाँकी रहेको उनले बताए ।
अन्तरक्रियामा अदालतका मुख्य न्यायधीश अब्दुलअजिज मुसलमानले आफूहरु कानूनले निर्धारण गरेको घेराबन्दीमा रहेर काम गर्नुपर्ने बाध्यतामा रहेको बताएका छन् न्यायधीशले निष्पक्ष, स्वतन्त्रपूर्वक काम गर्दा पनि कहिलेकाहिँ विचौलियाले खेल्न खोज्ने गरेको बताएका छन् । मुख्य न्यायधीश मुसलमानले विचौलियाबाट न्यायधीशलाई कसैले प्रभावमा पार्न खोजेको जानकारी पाएमा कारबाही गर्ने भन्दै यस्ता विषयको जानकारी दिन संचारकर्मीसमक्ष आग्रह समेत गरेका छन् । न्यायालयमा भएको कमीकमजोरी सुधार गर्न तयार रहेको उनले बताए ।
मुख्य न्यायधीश मुसलमानले अदालत प्रतिको जनआस्था कायम राख्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पत्रकार भेटघाटमा अदालतको आदेश, फैसला र मुद्दामा प्रयोग हुने शब्द बुझ्न कठिन भएको भन्ने पत्रकारको प्रश्नमा मुख्य न्यायधीश मुसलमानले छिट्टै पत्रकार महासंघको सहकार्यमा पत्रकारसँग सहजिकारण कार्यक्रमको व्यवस्थापन गरिने कुरालाई स्पष्ट पारेका थिए ।
अदालतका रजिस्ट्रार भट्टले सरल मार्ग (६ महिना), समान्य मार्ग (१ वर्षं) र विशेष मार्ग (१८ महिना) गरी ३ मार्गमा विभाजन गरी मुद्दा फछर्यौट गर्ने गरेको र आर्थिक वर्ष २०७९÷८० मा २ वर्ष नाघेका २०७८÷०८÷२१ गते दर्ता भएको मोटसाइकल चोरी सम्बन्धी एउटा मात्र मुद्दा फछर्यौट हुन बाँकी रहेको बताएका छन् । रजिष्ट्रार भट्टले आर्थिक वर्ष २०७९÷८० अदालतले १७४१ वटा मुद्दा फछ्र्याेट गर्ने लक्ष्य लिएकोमा १३१२ मुद्दा फछ्र्यौट गर्न सफल रहेको जानकारी दिए ।
अदालतका रजिस्ट्रार भट्टले अदालतमा दर्ता भएका देवानी भन्दा लागूऔषधको मुद्दा बढी रहेकोले गत वर्षको ४२९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको बताए । पत्रकार भेटघाटमा अदालतको यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट ४२९ वटा मुद्दाको जिम्मेवारी सरेर आएको, गत वर्षमा १ हजार १९६ थान नयाँ मुद्दा दर्ता भएको जनाइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १ हजार २६७ नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको र चालू वर्षमा १ हजार १०४ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताएका छन् ।
‘उच्च अदालत हेटौंडा इजलासले पुनरावेदन मुद्दा, सुरु मुद्दा, साधक तथा रिट र निषेधाज्ञाका मुद्दाहरु हेर्ने गरेको छ’–पत्रकार भेटघाटमा कौशिकले भने । कार्यक्रममा न्यायधीश राजेश्वर तिवारीले प्रेस राज्यको चौथो अंग रहेकोले देशमा शुसासन कायम गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको बताए । उनले अदालतबाट हुने न्याय सम्पादनको कार्य अब पहिलाको जस्तो नरहेको दुई वर्ष सम्मपनि मुद्दा फछ्र्यौट हुन नसके ताल्लुकदार निकायमा लिखित प्रतिवेदन दिनुपर्ने पर्ने अवस्था रहेकोले मुद्दालाई ३ मार्गमा विभाजन गरी फछ्र्यौट गर्ने गरिएको बताए ।
अन्तरक्रियामा न्यायधीश तिवारीले कुनैपनि मुद्दाको अंग पुगेको अवस्थामा कसैले चाहेर पनि फैसला नरोकिने पद्दतीको विकास भएको बताए । अदालतमा सूचनाको हकको पूर्ण कार्यान्वयन भएको भन्दै फैसला भएको २१ दिन भित्र अदालतको वेवसाइटमा फैसलाको पूर्णपाठ अपलोड गर्ने गरिएको उनले जानकारी दिए । कार्यक्रममा न्यायधीश मेरिना श्रेष्ठ, निर्मला शाक्य, संचारकर्मी प्रताप बिष्ट, भानुभक्त आचार्य, हरि हुमागाईलगायत मकवानपुरे पत्रकार उपस्थित थिए ।







