गाँजासहित मकवानपुरका दुई र भारतीय ४ जना पक्राउ

साझाकुरा
२०८० श्रावण २३, मंगलवार १२:०३

हेटौंडा- अवैध लागुऔषध १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराले सोमबार सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुकी जीतपुरसिमरा उपमहानरपालिका वडा नं २२ अमलेखगंजस्थित जंगलबाट गाँजा सहित उनीहरुलाई पक्राउगरेको हो ।

गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । बा ११ च ४९९२ नम्बरको स्कर्पियोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षका रोशन नेगीले ठूलो परिमाणको गाँजा ओसारेको प्रहरीले वताएको छ । स्कर्पियोमा ६ पोकामा १५७ केजी गाँजा फेला परेको थियो ।

यस्तै गाँजा लिएर आउनेमा मकवानपुर भीमफेदी गाउँपालिका वडा नं ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २२ अमलेखगंजका ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन् ।यसैगरी गाँजा लिन आएको बीआर ०५ जी ८६५६ नंबरको भारतीय पिकअप एक र बीआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाइकल एकसहित ४ जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षका अलि अहमद भाट, २३ वर्षका जमालुदिन खान, १८ वर्षका देव कुमार र ३५ वर्षका जागिरदिन मियाँ रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथि आगुऔधषसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान भैरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*