पहिरोमा हराइरहेकामध्ये एकको जीवितै उद्दार

साझाकुरा
२०८० श्रावण २४, बुधबार १२:३७

हेटौंडा- मकवानपुर र काभ्रेको सीमानामा रहेको सिक्रेदोभानको पहिरोमा परी बेपत्ता भएका एक जनाको १२ घण्टापछि जीवितै उद्दार गरिएको छ । उद्दार गरिएका व्यक्ति १९ वर्षीय पासाङ घिसिङ रहेका छन् । सिन्धुली हरिहरपुर–१ का घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए । अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रेदोभानमा खसेको भलसहितको पहिरोले स्थानीय अक्कलबहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्याङ्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्दार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । पहिरोमा परी बागमती–५ सिक्रेदोभान बस्ने ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, निजको छोरी २२ वर्षीया शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी अझै हराइरहेका छन् ।

सिक्रेदोभान पहिरोमा हराएकाहरुको उद्दारकार्य मंगलबार रातभरका लागि स्थगित भएको छ । सिक्रेदोभानमा मंगलबार बिहान ४ बजेको समयमा खसेको पहिरोमा हराएकाहरुको खोजीकार्य बुधबार बिहानबाट गर्ने गरी स्थगित भएको हो ।खोजीकार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग असहज रहेको र रात परेकाले उद्दारकार्य गर्न नसकेको प्रवक्ता कार्कीले बताए । रातको समयमा खोजी कार्यका लागि प्रहरीसँग पर्याप्त सामग्री नभएको र प्रहरी पनि सीमित र असुरक्षित हुने भएकाले खोजीकार्य स्थगित गरिएको उनको भनाई छ ।

प्रवक्ता कार्कीका अनुसार खोजीकार्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनिरीक्षक विक्रम मगरको कमान्डमा, इलाका प्रहरी कार्यालय झुरझुरे, प्रहरीचौकी भोर्लेनी लगायतका ईकाईबाट करिब ३५ जना जनशक्ति परिचालन भएका थिए ।उद्दारमा खटिएका प्रहरीसँग लाइफ ज्याकेट, गाडीको ट्युब, स्ट्रेचर लगायतका उद्दार सामग्री मात्रै रहेको प्रवक्ता कार्कीले जानकारी दिए । उद्दार टोलीसँग जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात् बुधबार बिहानबाट उद्दार तथा खोजीकार्य सुरु गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*