बागमतीमा एक वर्षभित्र ९४० जनाले गरे आत्महत्या
हेटौंडा- बागमती प्रदेशमा अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको संख्या बढेको छ । यस प्रदेशमा बितेको आर्थिक वर्षमा ९४० जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या बढेको हो ।अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ९०२ जनाले आत्महत्या गरेका थिए । बितेको आर्थिक वर्षमा यो संख्या बढेर ९४० पुगेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । झुण्डिएर, बिषसेवन गरेर, हामफालेर आत्महत्या गर्ने गरेको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तरगतका १० जिल्लामा मात्र यतीका धेरै आत्महत्या भएपनि यसलाई
रोकथाम गर्नका लागि प्रयास भने कमै मात्र भएका छन् । हरेक वर्ष आत्महत्याले विकराल रुप लिदै गएको छ । यसतर्फ तीन तहका सरकारको ध्यान जान नसकेको पीडित परिवारहरु बताउँछन् । यसैगरी, मकवानपुर जिल्लामा पनि आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरस्थित महिला तथा बालबालिका सेवाकेन्द्रको तथ्यांकअनुसार गत आव ०७९÷८० मा मात्रै ७४ जनाले आत्महत्या गरेका छन् ।
दुई वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्ने १२ जना बढेको देखिन्छ । आव ०७८÷७९ मा आत्महत्या गर्नेको संख्या ६२ थियो । आव ०७६÷७७ मा आत्महत्या गर्ने ६४ जना, आव ०७७÷७८ मा ७१ जनाले आत्महत्या गरेका थिए ।
विगत तीन वर्षको तथ्यांकलाई हेर्दा पनि गत आवमा सबैभन्दा बढीले आत्महत्या गरेको पाइएको छ । चार वर्षको तथ्यांक अनुसार झुण्डिएर आत्महत्या गर्ने १ सय ५५ जना, हाम फोलर २ जना, विषसेवन गरेर १ सय १२ जनाले आत्महत्या गरेका हुन् । गत आव ०७९÷८० मा मात्रै झुण्डिएर ४४ जना, आत्मदाहबाट १ जना र विषसेवनबाट २८ जनाले आत्महत्या गरेको महिला तथा बालबालिका सेवाकेन्द्रले जानकारी दिएको छ ।







