स्थापना दिवसको अबसरमा मामाघरलाई सहयोग
हेटौंडा- नमूना प्रगति सहकारी संस्था लिमिटेडले आफ्नो २६ औं स्थापना दिवसको अबसर पारेर मामाघर नेपाललाई सहयोग गरेको छ । सहकारीले मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । मामाघर नेपालका कोषाध्यक्ष नवीन सिलवाललाई ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । सहकारी संस्थाका अध्यक्ष मीठाराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम दाहाललगायतको उपस्थिति थियो । सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका–२ मा मुख्य कार्यालय र हेटौंडा–१७ मा सदस्य सम्पर्क कार्यालय मार्फत सदस्यहरुलाई सेवा दिइरहेको व्यवस्थापक बद्रीप्रसाद भण्डारीले जानकारी दिए । उनकाअनुसार संस्थामा हाल २ हजार ६ सय २ जना सदस्यले कारोबार गरिरहेका छन् । संस्थाले हरेक वर्ष विविध कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आइरहेको छ ।







