भैंसेमा पहिरोमा परेर प्रहरी जवानको मृत्यु
हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसे नजिकै खसेको पहिरोमा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ । एक प्रहरी घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दरबन्दी भई हाल भैंसे प्रहरीचौकीमा कार्यरत प्रहरीजवानको पहिरोमो परेर मृत्यु भएको हो । जाजरकोटको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृतिबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनी र अर्का प्रहरीजवान सुनिल मेचे भैंसेबाट भीमफेदी बजारतर्फ जाने क्रममा पहिरोमा परेर मृत्यु भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृतक नेपालीको टाउकोमा पहिरोसँगै आएको ढुंगाले लागेको जनाइएको छ ।
सुख्खा पहिरोमा परी घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा नेपालीको बिहीवार राती १२ बजेको समयमा मृत्यु भएको हो । सुख्खा पहिरोमा परी अर्का प्रहरीजवान सुनिल मेचे भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।







