लागूऔषधको ‘ट्रान्जिट’बन्दै मकवानपुर
हेटौंडा, २९ साउन÷ मकवानपुर पछिल्लो समय लागूऔषध कारोबारीको ‘ट्रान्जिट’ बन्दै गइरहेको छ । भारतीय सीमाबाट नजिक र ठूला सहरहरु प्रवेश गर्ने नाका भएकाले मकवानपुर लागूऔषध
कारोबारीको ‘ट्रान्जिट’ बनिरहेको हो ।मकवानपुर लागूऔषध गाँजा र अफिम खेती धेरै हुने जिल्लामा पर्दछ । जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा र अफिम खेती हुने गरेका छन् । राक्सिराङ र कैलाशमा उत्पादित लागूऔषध गाँजा र अफिम भारत निकासी हुने र भारतबाट औषधिजन्य लागूऔषध नेपाल भित्रने जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसन्धानबाट खुल्ने गरेका छन् । मकवानपुर प्रहरीले दैनिकजसो लागूऔषध कारोबारी तथा ओसारपसारमा संलग्न भारतीय नागरिक र नेपाली नागरिकलाई पक्राउ गर्दै आइरहेको छ ।
तर, मकवानपुर प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न भरियाहरु मात्रै पक्राउ गर्न सफल भएको छ । लागूऔषध कारोबारीको गिरोह समात्न भने प्रहरी हालसम्म असफल हुँदै आएको हो । भारतीय सीमावर्ती नाका रक्सौलबाट हेटौंडा नजिक भएकाले पनि मकवानपुर हुँदै काठमाडौं, पोखरा, नारायणगढ लगायतका सहरमा लागूऔषध कारोबार गर्ने गिरोहहरु सक्रिय छन् । गिरोहले भरिया बनाएर लागूऔषध कारोबार गरिरहेता पनि मकवानपुर प्रहरीले दैनिक जसो ओसारपसारमा संलग्नहरुलाई मात्र पक्राउ गरिरहेको छ ।
मकवानपुरमा दिनप्रति दिन लागूऔषधको कारोबार फष्टाउँदै गइरहँदा यसको नियमन र नियन्त्रणको लागि सरोकारवाला निकायले खासै पहल गरेको भने पाइँदैन । प्रहरीले लागूऔषध गाँजा, अफिम उत्पादन फँडानी र कारोबार गर्नेलाई पक्राउ गर्नेबाहेक यसको नियन्त्रण र न्यूनीकरणको लागि कुनै पनि कार्य हुन सकेको छैन । लागूऔषधको कारोबार बढ्दै जाँदा निकट भविष्यमै मकवानपुर अन्तर्राष्ट्रिय कारोबार केन्द्र नबन्ला भन्न सकिँदैन ।
एकवर्षमा २४८ लागूऔषध कारोबारी पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९÷८० मा लागूऔषध कोरोबार गर्ने २४८ जनालाई पक्राउ गरेको छ ।विभिन्न प्रकारको लागूऔषध ओसारपसार गर्नेलाई पक्राउ गरेर १५३ वटा मुद्दा दायर गरिएको मकवानपुरका प्रहरीप्रवक्ता प्रहरीनायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा २ सय ५ जना पुरुष र १७ जना महिला गरी २ सय २२ जना नेपाली रहेका छन् भने २३ जना भारतीय पुरुष पनि पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय कारोबार केन्द्र बन्ने जोखिम
यसअघि आव २०७७÷७८ मा पनि मकवानपुर प्रहरीले लागूऔषध कारोबारी गर्ने एकसय ५१ जनालाई पक्राउ गरेको थियो । एकसय ३९ पुरुष र ९ महिला तथा ३ जना विदेशी नागरिकलाई लागूऔषध कारोबार तथा ओसारपसारको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले गत आव २०७८÷७९ मा २ सय २५ जनालाई पक्राउ गरेको थियो । २ सय ६ पुरुष र ८ महिला तथा ११ जना विदेशी
नागरिकलाई लागूऔषध कारोवारको आरोपमा पक्राउ गरेको प्रहरीको तथ्यांकले देखाएको छ
।सामान्य प्रलोभनमैफस्छन् भरिया
मकवानपुरमा लागूऔषध ओसारपसारमा संलग्नहरु दैनिकजसो पक्राउ परिरहे पनि कारोबारीको मुख्य नाइके भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले पक्राउ गर्नेहरु अधिकांश सामान्य आर्थिक प्रलोभनमा लागूऔषध एक ठाउँबाट अर्को ठाउँमा लैजाने भरियाको रुपमा काम गर्ने मात्रै रहेका हुन्छन् । अधिकांश मात्रामा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नागरिक लागूपदार्थ ओसारपसारमा संलग्न हुने गरेको पाइन्छ । राक्सिराङ मकवानपुरको विकट गाउँपालिका मात्रै नभएर त्यहाँ अधिकांश बासिन्दा गरिबी र भोकमारीको चपेटामा छन् । जसले गर्दा उनीहरु सामान्य लालचामा फसेर लागूपदार्थ ओसारपसारमा संलग्न हुने गरेको मकवानपुरका प्रहरीप्रवक्ता कार्कीको भनाई छ ।
उनले भने ‘गरिबीको कारणले यति थोरै काम गर्दा पनि पैसा आउँछ भन्ने उनीहरुलाईपरेको छ र यो काम गर्न तयार हुन्छन् ।कतिपय अवस्थामा त विभिन्न लालच देखाएर बाल बालिकालाई पनि प्रयोग गरिएको हुन्छ । कार्कीले २–४ हजारकै लोभमा परेर लागूऔषध कारोबारीको फन्दामा फस्नेको संख्या धेरै रहेको बताए । उनले थोरै काम गरेर
धेरै पैसा कमाउने लोभले पनि यस कोरोबारमा धेरैले संलग्नता देखाउने गरेको बताए ।
६ हजार केजी गा“जा र २१ किलो चरेश बरामद
मकवानपुर प्रहरीले गत एकवर्षमा ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । कारोबारको क्रममा रहेको विभिन्न स्थानमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्न प्रकारको लागूऔषध बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकअनुसार ६ हजार ६ किलोग्राम गाँजा र २१ किलो चरेस प्रहरीले बरामद गरेको छ । यसैगरी १४ किलो १ सय ६० ग्राम अफिम, ५१ ग्राम ३ सय ४० मिलिग्राम खैरोहेराइन, १५ सय ४० बोतल कोरेक्स बरामख गरेको प्रवक्ता कार्कीले बताए । प्रहरीले ४ हजार ४ सय २ ट्याबलेट नाइट्रोभेट र ३ हजार ९ सय ८१ एम्पुल डाईजेपाम बरामद गरेको छ भने ४० सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।
यसअघि अघिल्लो आव ०७७÷७८ मा मकवानपुर प्रहरीले एकहजार १७ सय ८९ किलो गाँजा, २३ किलो चरेस, १४ किलो अफिम, १४ ग्राम खैरोहिरोइन, ९ सय ४२ बोतल कोरेक्स, २ सय ९६ बोतल नाइट्रोभेट र ९ सय १५ एम्पुल डाईजेपाम बरामद गरेको थियो । आव २०७८÷७९ मा मकवानपुर प्रहरीले २६ सय ६२ किलो गाँजा, २० किलो चरेस, १२ किलो अफिम, ७५ ग्राम खैरोहिरोइन, ९ सय ४२ बोतल कोरेक्स, १२ हजार ६ सय ९७ ट्याबलेट नाइट्राभेट र २८ सय ४४ एम्पुल डाईजेपाम बरामदगरेको प्रहरीप्रवक्ता कार्कीलेजानकारी दिए ।
तीनसय बिघामा लगाइएको लागूऔषध फ“डानी
मकवानपुर प्रहरीले हरेक वर्ष जस्तै गएको वर्षपनि लागूऔषध गाँजा र अफिम फँडानी कार्यलाई निरन्तरता दिएको छ । जिल्लाको विभिन्न विकट स्थानमा खेतीको रुपमा लगाइएको गाँजा तथा अफिमजस्ता लागूऔषध फडानी गरिएको हो ।प्रत्येक वर्ष प्रहरीले लागूऔषध गाँजा र अफिम फँडानी अभियान नै चलाए पनि यसले लागूऔषध उत्पादन, यसको कारोबारी र प्रयोगमा भने कमी ल्याउन सकेको छैन । प्रहरीले दिएको तथ्यांक अनुसार गएको वर्षमा मकवानपुर प्रहरीले ४ सय ९७ प्रहरी खटाएर तीन सय बिघा जग्गामा लगाइएको लागूऔषध गाँजा र अफिम फडानी गरेको छ । प्रहरीले १ सय ४३ बिघा १७ कठ्ठा १० धुरमा लगाएको गाँजा र २ सय २४ बिघा ३ कठ्ठामा लगाइएको अफिम फँडानी तथा नष्ट गरेको हो ।
अघिल्लो आव ०७८÷७९ मा पनि पनि मकवानपुर प्रहरीले १ सय ४४ बिघा १ कठ्ठा १६ धुरमा लगाइएको गाँजा र १ सय ४४ बिघा १४ कठ्ठामा लगाइएको अफिम फँडानी गरेको थियो । यसैगरी, गतवर्ष भन्सार छलेर ल्याएको सुन, चाँदी पनि मकवानपुर प्रहरीले बरामद गरेको छ । प्रहरीले गत आव ०७९÷८० मा १ करोड १९ लाख ९१ हजार ७ सय ५ रुपैयाँ बराबरको १ किलो २ सय ४९ ग्राम ५ सय २ मिलिग्राम सुन बरामद गरेको थियो ।
त्यसैगरी प्रहरीले १८ लाख ७५ हजार ५ सय ९२ रुपैयाँ बराबरको २१ किलो ८ सय ६३ ग्राम चाँदी बरामद गरेको थियो । भन्सार छलेर ल्याएको २ करोड ७ लाख ८४ हजार ८ सय २२ रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको छ ।







