बर्खा लागेपछि अत्याशलाग्दा हेटौंडा–काठमाडौं जोड्ने सडक

साझाकुरा
२०८० भाद्र ३, आईतवार ०९:५९

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसे नजिकै खसेको पहिरोमा परेर एकजना प्रहरी जवानको २६ साउनमा मृत्यु भयो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दरबन्दी भई हाल भैंसे प्रहरीचौकीमा कार्यरत प्रहरीजवान जाजरकोटको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृतिबहादुर नेपालीको मृत्यु भएको हो । कृतिबहादुर भैंसेबाट भीमफेदी बजारतर्फ जाने क्रममा पहिरोमा परेर मृत्यु भएको थियो । मृतक नेपालीको टाउकोमा पहिरोसँगै आएको ढुंगाले लागेको जनाइएको छ । उनमाथि खसेको पहिरो हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्गअन्तर्गत्को भैंसे–भीमफेदी सडक खण्ड हो । प्रदेश सरकारले उक्त खण्ड निर्माण गरिरहेकाले भित्तो काट्दा पहिरोको उच्चजोखिम छ ।

यतिबेला मध्य बर्खा छ । मनसुन सक्रिय भइरहेकाले सडक यात्रा जोखिम बन्ने नै भयो । हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्गहरु भने अत्याशलाग्दा छन् । हेटौंडा र काठमाडौंलाई आधा दर्जन सडक सञ्जालले जोडेको छ । धेरै सडक सञ्जालले दुई राजधानीलाई नजिक बनाउन खोजेपनि यात्रुका लागि आरामदायी र जोखिम नभएको सडक भने छैनन् । हेटौंडादेखि काठमाडौं नपुञ्जेल यात्रुलाई यात्रामा कुनै आरामदायी महुशुस भएको यात्रुहरुकै अनुभवबट पाइन्छ । हेटौंडा–काठमाडौं जोड्न भैंसे–भीमफेदी–फाखेल–फर्पिङ–बल्खु र भैंसे–भीमफेदी–सिस्नेरी–फर्पिङ–बल्खु सडक खण्ड छोटो मार्ग हुन् । लामो दुरीको पुरानो त्रिभुवनराजपथ र अलि छोटो कान्तिलोकपथ पनि छन् ।

जिल्लाको उत्तरी क्षेत्रस्थित कुलेखानी नजिक पुगेपछि थाहा नगरपालिकाको चित्लाङ हुँदै गणेशमानमार्गबाट नागढुंगा पुग्न पनि सडक छ । इन्द्रसरोबरको महालक्ष्मी खोलाबाट चन्द्रगिरी हुँदै कलंकी नजिकको संतुगल पुग्न अर्को छोटो वैकल्पिक मार्ग पनि छ । सबैभन्दा लामो दुरीको अर्थात हेटौंडाबट चितवन–मुग्लिन हुँदै मलेखु निस्किएर वा सिन्धुलीबाट काभ्रेको धुलिखेल निस्किएर पनि काठमाडौं उपत्यका प्रवेश गर्न सडक सञ्जाल छन् । तर, मकवानपुरबासीले जिल्लाको उत्तरी क्षेत्रका छोटा सडकहरु नै नियमित प्रयोग गर्ने गरेका छन् । छोटोमार्गका सबै सडक भने जीर्ण भएकाले यात्रुका लागि अत्याशलाग्दो यात्रा बनिरहेको छ ।

हिउँदमै पनि जोखिमको यात्रा गर्नुपर्ने छोटोमार्गहरुमा बर्खा लागेपछि यात्रुहरु अत्याशलाग्दो अवस्थाबा गुज्रिएका छन् । यसअघि काठमाडौंबाट चन्द्रागिरीडाँडा हुँदै इन्द्रसरोबर गाउँपालिका–५ बाट हेटौंडा आएकी हेटौंडा–७ नागस्वती घर भएकी आशा श्रेष्ठलाई फेरि काठमाडौं जान सिमरा विमानस्थलसम्म पु¥याएको छ । उनले भिरालो र साँघुरा कच्ची सडक एकपटक यात्रा गरेपछि पैसा खर्च गरेरै सिमनाबाट १८ मिनेटमै प्लेनमार्फत काठमाडौं पुगेकी हुन् । ‘छोराको उपचार गराउन सुरुमा जाँदा कान्तिलोकपथबाट गएको आउँदा चन्द्रगिरीडाँडा हुँदै आएको मेरो त सात्तो गयो । दोस्रो पटक उपचार गराउन जाँदा पैसा खर्च गरेरै भएपनि सिमराबाट गएँ ।’, श्रेष्ठले भनिन् ।

श्रेष्ठ जस्ता धेरै यात्रुहरु कष्टपूर्ण र ज्यान नै जोखिममा राखेर हेटौंडा–काठमाडौं दैनिक यात्रा गरिरहेका हुन्छन् । सडक जीर्ण भएपनि सयौंको संख्यामा चल्ने टाटासुमोले यात्रुलाई सकभर सुरक्षित रुपमै लानेल्याउने गराइरहेको सुमोका चालक प्रकाश घिमिरे बताउँछन् । यतिबेला छोटोमार्गहरु हिलाम्मे भएका छन् । हेटौंडादेखि भैंसेसम्म सडक कालोपत्रे, भैंसेदेखि भीमफेदीसम्म कच्ची (निर्माणाधीन) सडक, भीमफेदीबाट कुलेखानीसम्म साँघुरा तर, पुरै कालोपत्रे सडक छन् । कुलेखानीदेखि फर्पिङसम्मै सडक हिलाम्मे र खतरायुक्त रहेका छन् । फर्पिङदेखि बल्खुसम्म सडक फराकिलो भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उतिकै रहेको चालक घिमिरेले बताए ।

६५ वर्षअघि ट्रयाक खोलिएको हेटौंडाबाट ललितपुरको सातदोबाटो जोडिने कान्तिलोकपथ सडक पनि पहिरोको जोखिम छ । कान्तिलोकपथमा सामान्य वर्षा भएपछि पहिरो आउने गरेको छ । हरेक पटकको वर्षामा कान्तिलोकपथ अवरुद्ध नभएको रेकर्ड सम्भवत प्रहरी कार्यालयसँग छैन । अन्य सडकको तुलनामा पुरानो तर, लामोदुरीको त्रिभुवनराजपथबाट भने सुरक्षित यात्रा गर्न सकिने यात्रुहरु बताउँछन् । १ सय ३२ किमि लामो त्रिभुवन राजपथ जीर्ण बन्दै गएको छ । लामो समयदेखि पिच उप्किएर सडकमा खाल्डाखुल्डी बढेका छन् । भैंसेबाट थाहा नगरपालिका हुँदै नौबिसे जोडिने त्रिभुवन
राजपथअन्तर्गत् केही ठाउँ पहिरोको जोखिम रहेको र धेरै घुमाउरो भएकाले वर्षामा यात्रा गर्न सहज भने नभएको गुनासो छ ।

गतवर्षको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बागमती प्रदेशको सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाडौंबीचको सडक सम्पर्क टुटेको थियो । यसवर्ष वर्षा भइरहे पनि सम्पर्क नै भने नटुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले प्याकेजमा ठेक्का लगाएर छोटोमार्गको निर्माण गरिरहेको छ । सडक विस्तारको काम विगतका वर्षदेखि जारी भइरहे पनि हालसम्म निर्माणले पूर्णता पाउन सकेको छैन । सडक निर्माणमा प्रदेश सरकारले चासो नदिँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हेटौंडा–भैंसे सडकखण्डमा भीमफेदी गाउँपालिका–१ बाघझोरामा निरन्तर बाढीले साना सवारीसाधन बगाउने र क्षति पु¥याउने भइरहँदा पनि सरकारले एउटा पुल निर्माणको योजना बनाउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*