जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा करिब एक हजार

साझाकुरा
२०८० भाद्र ४, सोमबार ०९:०९

हेटौंडा-जिल्ला अदालत मकवानपुरमा दर्ता भएका कुल ३ हजार बढी मुद्दामा सम्बन्धविच्छेदका मुद्दा मात्रै करिब १ हजार वटा रहेका छन् ।जिल्ला अदालतमा यौनदुव्र्यहार, जर्वजस्तीकरणी, ज्यान मार्ने उद्योग, सम्बन्धविच्छेद, लागूऔषध ओसारपसारलगायतका गरी विभिन्न प्रकृतिका घटनाका मुद्दा दायर हुने गरेका छन् । जसमध्ये एकतिहाई मुद्दा सम्बन्धविच्छेदकै रहेको जिल्ला अदालतको तथ्यांकलेदेखाएको छ । सम्बन्धविच्छेद गर्ने र गर्न चाहनेहरुको मुद्दालाई हेर्दा पछिल्लो समय पारिवारीक बिमेल बढ्दै गएको पाइन्छ । यसका कारकहरु आर्थिक पक्ष, एकअर्कामा विश्वासको अवस्था नरहनुलगायत छन् । परिवारमा पतिपत्नीबीच बिमेल बढ्दा सम्बन्धविच्छेदका घटनामा पनि वृद्धि भएको हो ।

जिल्ला अदालत मकवानपुरमा आर्थिक वर्ष २०७९÷८० मा ३ हजार ३ सय ५७ मुद्दा दर्ता भएका थिए । जसमध्ये २८ दशमलव ५० प्रतिशत अर्थात ९ सय ७५ वटा सम्बन्धविच्छेदका मात्रै मुद्दा रहेको अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । जिल्ला अदालत मकवानपुरमा दर्ता भएका सम्बन्धविच्छेदका अदालतमा परेका मुद्दामध्ये ७ सय ६८ वटाको फैसला भइसकेको छ । २ सय ७ वटा फैसला हुन बाँकी छ ।

मुलुकमा नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ । जसले गर्दा सम्बन्धविच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको अधिवक्ता मदन दाहाल बताउँछन् । ‘अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै २९ प्रतिशत सम्बन्धविच्छेदको छ’, उनले भने । नयाँ संहितामा महिलासरह पुरुषहरु पनि सम्बन्धविच्छेदका लागि अदालत जान सक्ने कानुनी व्यवस्था गरिएको छ ।नयाँ संहिता लागू भएपछि मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालत पुग्ने पुरुषको संख्या पनि बढेको छ ।

अदालतका अनुसार आव ०७८÷७९ मा दर्ता भएका ८ सय ५९ थान सम्बन्धविच्छेदका मुद्दामध्ये ३ सय २ वटा मुद्दा पत्नीसँग सम्बन्धविच्छेद गरि पाउँ भनेर पुरुषले मुद्दा दर्ता गराएका थिए । अहिले त्यो संख्या बढेर ३ सय ३३ पुगेको छ । नयाँ संहिता कार्यान्वयन नआउँदासम्म पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दर्ता गराउने व्यवस्था थिएन ।मुद्दाका प्रकृति र परिवारमा आएको बेमेललाई हेर्दा स्वतन्त्र हुने नाममा ससाना मनमुटावमा पनि दम्पतीको सम्बन्धविच्छेद हुने क्रम बढेको छ । विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवा जोडी पनि छन् । गत आवमा जिल्ला अदालत मकवानपुरमा विवाहको वर्ष दिन नपुग्दै ४ जोडीले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए । गत आव जिल्ला अदालतमा ६० वर्ष पार गरिसकेका ४ वृद्धले पनि पत्निसँग सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए ।

सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिला पति एव घरपरिवारको हिंसा सहन नसकेको निवेदनमा देखिन्छ । श्रेस्तेदार पौडेलका अनुसार बालविवाह पनि क्रमशः सम्बन्धविच्छेदमा परिणत हुन थालेको छ । २१–२२ वर्षका युवतीहरु २–३ वटा बच्चा लिएर सम्बन्धविच्छेदका लागि अदालतमा आउने गरेका छन् । ‘उनीहरुको विवाह १५–१६ वर्षको उमेर भएको देखिन्छ’, उनले भने, ‘सम्बन्धविच्छेदका लागि अदालतमा दर्ता भएका यस्ता मुद्दा प्रशस्तै छन् ।’,

महिलाले सम्बन्ध विच्छेदको निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिट्टै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको श्रेस्तेदार पौडेलले बताए । पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसला हुन समय लाग्ने गरेको उनले बताए ।मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तिमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । पतिपत्नीबीच सम्बन्धविच्छेद नहोस् मिलेर बसुन् भन्ने उद्देश्यले एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो । नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् । यसपछि पत्नीसरह पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने भएका हुन् । लगातार तीनवर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*