९ दिनभित्र मकवानपुरमा ६ हजार पशुलाई लम्पी स्कीनविरुद्ध खोप
हेटौंडा- मकवानपुरमा ६ हजार पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ । बागमती प्रदेशमा गत साउन २५ गतेबाट लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएकोमा भदौ १ गतेसम्ममा मकवानपुर जिल्लामा ६ हजार ८ सय २२ पशुमा खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।बागमती प्रदेशका १३ जिल्लामा संचालन गरिएको खोप अभियानको प्रदेशमा ४८ हजार ३ सय ६४ पशुमा लम्की स्कीन विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मातहतका भेटेरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्रमार्फत प्रदेशका ९१ स्थानीय तहमा संचालन गरेको खोप अभियान अन्तर्गत ४८ हजार ३ सय ६४ गाई, भैँसी, गोरु, साँढे, पाडापाडी र बाँच्छाबाच्छीमा रोगविरुद्धको खोप लगाएको हो ।
मन्त्रालयले साउन २५ देखि भदौ १ गतेसम्म ९ दिन संचालन गरेको लम्पी स्किनविरुद्धको खोप अभियानमा सबैभन्दा बढी खोप चितवन र सबैभन्दा कम दोलखा जिल्लाका पशुमा लगाइएको छ । चितवनमा १० हजार २ सय १९ तथा दोलखामा ५ सय ४९ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।
यसैगरी काठमाडौं जिल्लामा २ हजार ४ सय ३९, भक्तपुर जिल्लामा ९ सय २१, ललितपुर जिल्लामा १ हजार ५ सय ८०, धादिङ जिल्लामा ४ हजार ३ सय १ सिन्धुली जिल्लामा २ हजार ५ सय ७८, रामेछाप जिल्लामा २ हजार ३ सय ३५, सिन्धुपाल्चोकमा ३ हजार २ सय ७४, काभ्रेपलाञ्चोक जिल्लामा ८ हजार ४ सय ११, नुवाकोट जिल्लामा ३ हजार ५ सय ९७ र रसुवा जिल्लामा १ हजार ३ सय ३८ पशुमा लम्पी स्किनको खोप लगाइएको मन्त्रालयको तथ्याड्ढमा उल्लेख छ । प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ६ हजार २ सय ९१ वटा पशुको मृत्यु भएको छ ।







