मकवानपुरमा जम्मा ९० प्रतिशत धान रोपाइँ
हेटौंडा- मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका कृषि अर्थविज्ञ रामहरि तिमल्सिनाले भदौ १ गतेसम्म मकवानपुरमा जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको जानकारी दिए ।उनका अनुसार गतवर्ष यहिअवधिमा मकवानपुरमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । कृषि अर्थविज्ञ तिमल्सिनाका अनुसार यसवर्ष समयमै पानी नपरेको र कम पानीपरेका कारण धान रोपाइँमा ढिलाई भएको हो ।
‘मकवानपुरमा अहिलेसम्म ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । विगतको वर्षमा भन्दा यसवर्ष पानी कम परेका कारण धान रोपाई केही ढिला भएको हो । यतिवेलासम्म मकवानपुरमा धान रोपाई सम्पन्न भइसक्नुपर्ने थियो ।’ उनले भने ।यस्तै लम्पी स्किन संक्रमणका कारण पनि यसबर्ष धान रोपाईमा ढिलाई भएको छ । खेती गर्ने समयमा धेरै किसानका गाईवस्तुमा लम्पी स्किनको संक्रमण फैलिदा गोरु विरामी हुनेदेखि मर्नेसम्मका कारणले धेरै ठाउँमा समयमै धान रोप्न समस्या भएको विज्ञ तिमल्सिनाले बताए ।
मकवानपुरमा ९ हजार ४५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा यसवर्ष जम्मा ७ हजार ८७ हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको कृषि अर्थविज्ञ तिमल्सिनाले जानकारी दिए । मकवानपुरका अधिकांश स्थानमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने भएकाले पनि धान रोपाइँ समयमै हुन नसकेको उनको भनाई छ ।







