बाँदरको हैरानीबाट बच्न अदुवाखेती
हेटौंडा- मकवानपुरगढीका कृषकहरुलेबाँदरको आतंकबाट हैरानी भएपछि पुनः अदुवा खेती थालेका छन् ।करिब ६–७ वर्षअघिदेखि खेती लगाउन छोडेको अदुवा कृषकहरुले पुनः लगाउन सुरु गरेको मकवानपुरगढी गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए । गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको ५ नम्बर वडास्थित बुङ्दल स्कुलडाँडामा लगाइएको अदुवा खेतीको अवलोकन पनि गरेको छ । अवलोकनको क्रममा कृषकहरुले बाँदरको हैरानीबाट मुक्त हुन पनि अदुवा खेती लगाउन थालेको जानकारी गराएको कृषि प्राविधिक चौधरीले बताएका छन् ।
मकवानपुरगढी–५ बुङ्दल स्कुलडाँडाका ५८ वर्षीय कृषक बीरमान मोक्तानले करिब ७ वर्षपछि अदुवा खेती पुनः सुरु गरेका छन् ।करिब ८–१० वर्ष अगाडि साविक आमभञ्ज्याङ (हालको ५ र ६ नम्बर वडा) र मकावानपुरगढी गाविस (हालको १ देखि ४ नम्बर वडासम्म) अदुवा खेतीको पकेट क्षेत्रको रुपमा परिचित थियो । अदुवाबालीमा गानो कुहिने रोगका कारण किसानहरु अदुवा लगाउन छोडेर क्रमशः मकै, सिमीलगायत अन्य बालीहरु लगाउन थालेका थिए । हाल फेरि मकैलगायतका खेती छोडेर कृषकहरु अदुवा खेती गर्न थालेको कृषि प्राविधिक चौधरी बताउँछन् । नगदेबालीको रुपमा
रहेको अदुवा खेतीबाट आम्दानी पनि राम्रो हुने गरेको स्थानीय कृषक मोक्तानले बताए । अदुवामा कुनै रोग नदेखिए किसानहरु धेरै नाफामा हुने उनको भनाई छ ।
‘अहिले मकै सिमि लगाउँदा बाँदरले सखाप बनाउन थाल्यो बाँदरबाट बाली बचाउनको लागि ७–८ वर्षको अन्तरालमा यसवर्ष एक विघामा अदुवा लगाएको हुँ ।’, मोक्तानले भने । मोक्तानले विगतमा ८० क्विन्टलसम्म अदुवा बिक्री गरेको सम्झिए । अगामी वर्ष थप क्षेत्रफल विस्तार गरेर अदुवा खेती गर्ने मोक्तानको लक्ष्य छ । फेरिपनि अदुवा कुहिने समस्या देखिनथालेको कृषक मोक्तानले बताएको कृषि प्राविधिक चौधरीको भनाई छ । अदुवा कुहिने समस्या देखिएपछि समाधानको उपायका लागि चौधरी मोक्तानको बारीमा अवलोकनका लागि पुगेका थिए ।
हाल मकवानपुरगढीका कृषकहरुले थोर–थोरै क्षेत्रफलमा मात्रै अदुवा खेती गरिरहेको चौधरीले जानकारी दिए । बाँदरको समस्याले गर्दा फेरि पनि अदुवा खेतीतर्फ फर्किनु पर्ने अवस्था आएको र पुरानै अदुवाको गानो कुहिने रोगको समस्या देखिएको चौधरीले बताए । अदुवाबाली अवलोकनको क्रममा गानो कुहिने रोग सुरुवात भएको देखिएकोले रोकथामको उपायहरुको बारेमा कृषकहरुलाई प्राविधिक सल्लाह सुझाव दिने कार्य गाउँपालिकाले गरिरहेको छ । कृषकहरुलाई कृषि व्यवसायका लागि अगामी दिनमा थप प्राविधिक सेवा उपलब्ध गराउने योजना निर्माणमा भूमिका खेल्ने चौधरीले बताए ।







