बसपार्कबाट लागूऔषधसहित दुई जना पक्राउ
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा दुईजना पक्राउपरेका छन् ।मकवानपुर प्रहरीले लागूऔषध गाँजा ९ किलोसहित मंगलबार बिहान दुईजनालाई पक्राउ गरेको हो । धनुषाको सागरनाथ नगरपालिका वडा नम्वर ८ बस्ने ४३ वर्षीय देबनारायण दास रसिराहाको कर्जनहा नगरपालिका वडा नम्वर ८ बस्ने ४२ वर्षीय रामसागर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बिहान साढे ९ बजेको समयमा हेटौंडाबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २१६५ नम्वरको बसलाई सादा पोशाकमा खाटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका देबनारायण दासको साथबाट प्रहरीले ३० हजार रुपैयाँ नगदसमेत बरामद गरेको जानकारी दिएको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीनायवउपरीक्षक कार्कीले बताए । मकवानपुरमा पछिल्लो समय दिनहुँ लागूऔषध ओसारपसारमा संलग्नहरु पक्रउ परिरहेका छन् ।वृद्धदेखि महिला र बालकसम्म लागूऔषध ओसारपसारमा प्रयोग भइरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । राज्यले लागूऔषधको ओसारपसारमा कडा कदम चाल्नुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।







