हेटौंडा–१ मा डेंगु नियन्त्रण अभियान ‘खोज र नष्ट गर’ प्रत्येक हप्ता

साझाकुरा
२०८० भाद्र ७, बिहीबार ०९:३२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ ले डेंगु रोगको संक्रमणलाई फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियानलाई तीब्रताका साथ अगाडि बढाउने भएको छ । डेंगुको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले टोल विकास संस्थाहरु, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालयका शिक्षकहरुलाई बुधबार अभिमुखीकरण तालिम दिँदै प्रत्येक घरमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रण अभियान थाल्ने घोषणा गरेको हो ।

वडा अध्यक्ष तथा नकौली शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष सविन न्यौपानेले डेंगु रोगको प्रकोप बढ्ने समय भदौ, असोज र कात्तिक महिना रहेकोले यस समयमा प्रत्येक घरका नागरिकहरु उच्च सतर्क अवस्थामा रहनुपर्ने बताए । मकवानपुर जिल्लामा विगत वर्ष भन्दा तीब्र गतिमा डेंगु रोगको संक्रमण फैलिरहेको हुनाले डेंगु रोग फैलाउने लामखुट्टे हुर्किन नदिन पानी जम्ने ठाउँलाई नष्ट गर्न प्रत्येक घरको नागरिक सक्रिय रहनु पर्ने वडा अध्यक्ष न्यौपानेले बताए ।

कार्यक्रममा उपस्थित सबै टोल विकास संस्था, स्वयम्सेविका, शिक्षकहरुले हरेक हप्ता आ–आफ्नो क्षेत्रमा लामखुट्टेको लार्भा र प्युपा ‘खोज र नष्ट गर’ अभियान संचालन गर्ने निर्णय भएको स्वास्थ्य केन्द्र प्रमुख पार्वती पौडेलले बताइन् । कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य मनु दाहाललगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*