हेटौंडाको २० वर्ष पुरानो बलात्कार र हत्या प्रकरण आरोपित राईलाई पुर्पक्षमा पठाइयो
हेटौंडा- हेटौंडामा २० वर्षअघि घटेको बालिकामाथि बलात्कार र हत्या प्रकरणका आरोपितलाई पुपक्र्षका लागि कारागार पठाइएको छ ।जिल्ला अदालत मकवानपुरले ५ वर्षीया बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका ४५ वर्षीय सोमबहादुर राईलाई पुर्पक्षमा पठाएको हो । बालिकालाई २०६० असोज १८ मा फकाएर राईले बलात्कार गरेको र हत्या गरेर हेटौंडा उपमहानगरपालिका–१०, स्थित राप्ती खोलाको ढुंगाको चेपमा फालेको प्रहरी अनुसन्धानमा खुलेको थियो । बालिकाको शव १९ असोज ०६० मा फेला परेको थियो भने घटनापछि राई फरार थिए । घटना हुँदा राई २५ वर्षका थिए ।
आरोपित राईलाई जिल्ला न्यायधीश ऋषिराम निरौलाको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।राईलाई गत १३ साउनमा ललितपुरको गोदावारी–१४ ठैवबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त पहलमा पक्राउ गरी हेटौंडा ल्याइएको हो । उनले बलात्कारपश्चात् हत्या गरेर फालेको बयान दिएको जनाइएको छ ।







