प्रहरीचौकी ठुलोदमारको भवनको उदघाटन
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१८ ठुलोदमारमा नवनिर्मित प्रहरीचौकी ठुलोदमारको भवन उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी भवनको बुधवार उद्घाटन गरेका हुन् । उद्घाटनमा बागमतीका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडाकी नगरप्रमुख मीनाकुमारी लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैंडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, बागमती प्रदेश प्रहरीप्रमुख प्रहरीनायवमहानिरिक्षक किरण राणा, मकवानपुरका प्रहरीउपरीक्षक सीताराम रिजाल, हेटौंडा–१८ का वडाअध्यक्ष अनिल बानियाँलगायतको उपस्थिति थियो ।
नवनिर्मित भवनको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ३५ लाख ८६ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । यससँगै बागमती प्रदेश सरकारले प्रहरी संगठनको क्षमता वृद्धि गर्न ४९ वटा प्रहरी इकाईको भवन निर्माण गरिसकेको छ । प्रहरी संघीय सरकारकै मातहत रहेता पनि प्रदेशले भवन निर्माण गरिरहेको छ । बागमतीमा १८ वटा भवन निर्माणाधीन अवस्थामा छन् । ५ वटा भवन निर्माण गर्न ठेक्काको प्रक्रियामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।
बागमती सरकारले आव ०७५÷७६ देखि आव ०७९÷८० सम्म १० जिल्लामा ४९ वटा भवन निर्माण गरिसकेको छ । कानुन मन्त्रालयले प्रदेश सरकार गठन पश्चात पहिलो चरणमा एक अर्ब ६६ करोड ९९ लाख १२ हजार ९ सय ७७ रुपैयाँ र दोस्रो चरणमा ७३ करोड ५८ लाख पाँच हजार ९ सय ९२ रुपैयाँ खर्च हुने गरी प्रहरी भवन निर्माण गरेको जनाएको छ । मकवानपुरमा ९, चितवनमा ५, सिन्धुलीमा ७, रामेछापमा ४, दोलखामा ४, नुवाकोटमा ३, काभ्रेमा ८, धादिङमा ३, रसुवामा ४, सिन्धुपाल्चोकमा ३ वटा भवन निर्माण भइसकेको छ ।
मकवानपुरमा सशस्त्र प्रहरी गण नम्बर ३ रातोमाटे, प्रहरीचौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरीचौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिंगन, प्रहरीचौकी डाँडाखर्क, प्रहरीचौकी हात्तिसँुढे, प्रहरीचौकी ठुलोदमार निर्माण भएको छ ।







