शून्य मातृशिशु मृत्युदर कागजमै सीमित, ३२ शिशुको गर्भमै मृत्यु

पाँच वर्षमा मकवानपुरमा १ सय ५९ शिशुले गर्भमै ज्यान गुमाए
निशा गुरुङ
२०८० भाद्र ८, शुक्रबार ०९:३१

हेटौंडा-करिब एक महिनाअघि हेटौंडा उपमहानगरपालिका–१४ की सरिता (नाम परिवर्तन)लाई एक्कासी आफ्नो गर्भमा रहेको शिशु नचलेको महशुस भयो । ९ महिना पूरा भएर बच्चा जन्मने मिति नजिकिँदै गर्दा आफ्नो गर्भमा रहेको बच्चा चल्न छाडेको थाहा पाउनासाथ उनी आत्तिँदै हेटौंडा अस्पताल पुगिन् ।अस्पतालमा भिडियो एक्स–रे गरेपछि उनको बच्चाको पेटमै मृत्यु भएको थाहा पाइन् । ९ महिनासम्म आफ्ना सबै दुःखकष्ट भुलेर गर्भमा हुकाइरहेको शिशु जन्मने बेलामा पेटमै बितेको सुन्दा उनलाई कति पीडा भयो होला ? एउटी आमाको यो पीडा सबैले अनुभूत गर्न सक्दैनन् । उनलाई कतै घोचेको, पोलेको वा दुखेको केही थिएन । अरु दिनको जसरी पेटमा बच्चा नचलेकाले मात्र सरिता अस्पताल पुगेकी थिइन् । अस्पताल पुगेपछि उनले बच्चाको पेटमै मृत्यु भएको त थाहा पाइन् तर, के
कारणले मृत्यु भएको भन्ने अझै थाहा पाएकी छैनन् ।

बच्चा गुमाउनुको पीडामाथि उनको अर्को पीडा त बाँकी नै थियो– कोखमै बितेको बच्चा जन्माउनु । अब उनले जिउँदो बच्चालाई जस्तै गरी मृत सन्तान जन्माउनुपर्ने अवस्था आयो । उनले मृत छोरीलाई जन्म दिइन् । मृत सन्तान जन्माउन उनी पनि मृत्युकै मुखमा पुग्नुप¥यो । उनको बच्चा १० महिनापछि कोखमै कसरी म¥यो ? यसको जवाफ न त उनीसँग छ न त चिकित्सकले नै दिए । सरिता एक उदाहरण मात्र हुन् । यसैगरी मकवानपुरका कैयौं आमाका कोखमै बच्चा मर्छन् । तीमध्ये केहीले मात्र बच्चा गर्भमै मृत हुनुको कारण थाहा पाउँछन् ।गर्भवती आमा र बच्चाको मृत्युदर घटाउन सरकारले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरेपनि मृत्युदर घटेको छैन ।

गर्भवती तथा सुत्केरी आमा र शिशुको मृत्यु शून्यमा झार्न सरकारले प्रभावकारी काम गर्न नसक्दा मृत्युदरमा कमी आउन सकेको छैन । गर्भवतीहरु स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले सुत्केरी नहुनु, नियमित गर्भ परीक्षण नगराउनु, खानपानमा ध्यान नदिनु, कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माउनुजस्ता कारणले पनि मृत्युदर घट्न नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा गएको ५ आर्थिक वर्षमा १ सय ५९ शिशुले गर्भमै ज्यान गुमाएका छन् ।

जन्मिएको २८ दिनभित्र ८२ शिशु र ७ दिनभित्र ५ शिशुको मृत्यु भएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । तीमध्ये अधिकांशको मृत्यु घरमै भएको कार्यालयले जनाएको छ । ५ वर्षमा मकवानपुरका ८ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले आर्थिक वर्ष २०७५÷७६ मा ३ जना शिशुले स्वास्थ्य संस्थामा ज्यान गुमाउँदा १९ शिशुको मृत्यु समुदायमा नै भएको जानकारी दिए । २३ जना शिशुको जन्मनुअघि गर्भमै र प्रसूतिका क्रममा मृत्यु भएको छ भने २ जना गर्भवतीको समुदाय र स्वास्थ्य संस्थामा ज्यान गएको छ ।

आव २०७६÷७७ मा २१ नवजात शिशुले समुदायमा नै ज्यान गुमाएका छन् भने ४३ जनाको गर्भमा नै मृत्यु भएको छ । चालू आवमा ४ जना महिलाको गर्भावस्थामा मृत्यु भएको तथ्यांकमा उल्लेख छ । आव २०७७÷७८ मा ३५ शिशुको गर्भमा नै मृत्यु भएको, २ नवजात शिशुको स्वास्थ्य संस्थामा र २२ जनाको समुदायमा नै मृत्यु भएको घिमिरेले जानकारी दिए । उनले चालू आवमा एक गर्भवतीले समुदायमा नै ज्यान गुमाएको जानकारी दिए । घिमिरेका अनुसार चालू आव ०७८÷७९ को हालसम्म पनि २६ शिशुको गर्भमै, २ जनाको स्वास्थ्य संस्थामा र १३ जना शिशुको समुदायमा नै मृत्यु भएको छ भने मातृ मृत्युदर शून्य छ ।

यसैगरी, गत आव ०७९÷८० मा ३२ शिशुको गर्भमा नै मृत्यु भएको छ भने जन्मेको ७ दिनमा ५ जना शिशुले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा १ जना सुत्केरी महिलाले ज्यान गुमाएको छन् । ५ वर्षको तथ्यांक हेर्दा मकवानपुरमा मातृ मृत्युदर घटेको देखिए पनि नवजात शिशुको र गर्भमै मृत्यु हुने शिशुको संख्यामा कमी भएको छैन । सरकारले मातृशिशु मृत्युदर शून्यमा झार्ने भन्दै बर्सेनि लाखौं रुपैयाँ खर्चिँदै आएको छ । तर, अझै पनि जनचेतना र स्वास्थ्य उपचारको अभावमा गर्भवती, सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् । देश संघीयतामा गएपछि आएका स्थानीय तहले प्रत्येक वडामा स्वास्थ्यचौकी खोलिएका छन्, बर्थिङ सेन्टर सञ्चालन गरिएका छन् । तर, त्यसको प्रभावकारिता भने खासै देखिएको छैन ।

बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा देखिएको शिशु मृत्युदरको तथ्यांकले प्रदेशका अन्य विकट जिल्लाको अवस्था कस्तो होला ? भनेर सहजै अनुमान गर्न सकिन्छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेका अनुसार मकवानपुरमा उपचार र हेरचाह अभावमा आमा र शिशुको मृत्यु भइरहेको छ । ‘मकवानपुरको हेटौंडालाई हेरेर हुँदैन । विकट गाउँपालिकाको कुनातिर हेर्ने हो भने जनचेतनाको कमी छ । अझै महिलाहरु घरमा नै सुत्केरी भइरहेका छन् ।’, उनले भने, ‘नियमित परीक्षण, पोषणयुक्त खाना, हेरचाह र उपचार नहुँदा मृत्युदर घट्न सकेको छैन ।’, उनले जन्मिएको ४२ दिनसम्म सुत्केरी र बच्चाका लागि जोखिमपूर्ण हुने भएपनि आवश्यक हेरचाह नपुग्दा जन्मिएपछि ज्यान गुमाउने नवजात शिशुको संख्या नघटेको बताए ।

‘सानै उमेरमा विवाह गर्दा र नियमित परीक्षण नगराउँदा पेटमै मृत्यु हुने शिशुको संख्यामा पनि अत्यधिक छ । यसलाई न्यूनीकरण गर्न हामीले जति प्रयास गरेपनि सकिरहेका छैनौँ ।’, उनले भने । घिमिरेका अनुसार सरकारले मातृशिशु मृत्युदर शून्यमा झार्ने भने पनि त्यसअनुरुप जनचेतनामूलक कार्यक्रम हुन सकेका छैनन् । मातृशिशु मृत्युदर शून्यमा झार्ने अभियान कागजमै सीमित छ भने राज्यको लाखौं रकम बालुवामा पानी हालेसरह भइरहेको छ । स्थानीय तहले गरिरहेको काम पनि प्रभावकारी हुन नसकिरहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*