बागमतीमा यातायातको भाडा बढ्यो, घट्दा भएन अनुगमन
हेटौंडा-बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएपछि प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाइएको हो ।यसअघि पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो । प्रदेश सरकारले यातायातको भाडा पनि घटाएको थियो । तर, घटेको भाडा कार्यान्वयन हुन सकेको थिएन । सवारी साधनहरुले पुरानै भाडा लिएर यात्रुको ठगी गरिरहेका थिए । तर, आफ्नै निर्णय कार्यान्वयन नहुँदा पनि प्रदेश सरकारले अनुगमन गर्न सकेन । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय भाडा घटाउने र बढाउनेमै व्यस्त छ । आफ्नै निर्णय कार्यान्वयनको चरणमा भने मन्त्रालय खासै गम्भीर नबनेको सर्वसाधारणले गुनासो गरेका छन् ।
सरकारले बढाएको भाडा तत्काल कार्यान्वयन हुने र घटाएको भाडा कार्यान्वयन नहुने समस्याको समाधानमा मन्त्रालय सचेत नहुँदा यात्रुहरु ठगिन बाध्य छन् । बिहीवार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तोकेको नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । ५ किलोमिटरसम्मको भाडामा एक रुपैयाँ बढाइएको छ भने १० किलोमिटरसम्मको भाडामा २ रुपैयाँ बढाएर २६ रुपैयाँ पुगेको छ । यस्तै १५ किलोमिटरसम्मको भाडा २९ रुपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ । इन्धनको मूल्यमा स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरिएको छ । इन्धनको मूल्य बढेपछि भाडा पनि सोहीअनुसार बढाइएको हो ।
प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो । मालबाहक सवारी साधन (ट्रक)मा ७ दशमलव ७७ प्रतिशत अर्थात १३ रुपैयाँ ७४ पैसा प्रतिकिमि÷प्रतिटनबाट बढेर मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४ रुपैयाँ ८० पैसा पुगेको हो । यसैगरी, काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुबाहक सार्वजनिक सवारीमा १८ बाट १९ रुपैयाँ ५० पैसा, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँबाट २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँबाट ३१ रुपैयाँ ४१ रुपैयाँ पुगेको छ । २० किलोमिटरसम्म यात्रा गर्दा ३२ बाट ३३ रुपैयाँ ६६ पैसा, २० किलोमिटर भन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ ८ पैसा लाग्नेगरी भाडा बढेको छ ।
इन्धनको स्वचालित मूल्य अनुसार बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा पनि बढेको छ । ट्याक्सीमा चढ्नेवित्तिकै ५२ रुपैयाँ भाडा लाग्ने भएको छ । बागमतीका एक दर्जन सहरमध्ये ट्याक्सी काठमाडौं उपत्यका, काभ्रेको बनेपा, धुलिखेल र चितवनको भरतपुरमा सञ्चालित छन् । प्रति २ सय मिटर १० रुपैयाँ लाग्नेमा ३४ पैसा भाडा बढेको छ । ट्याक्सीमा अब बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको भाडादर प्रति २ सय मिटर १५ रुपैयाँ ५२ पैसा लाग्ने भएको छ ।







