चुरियामाई बस दुर्घटनामा ७ जनाको मृत्यु
हेटौंडा-मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाईमा रात्रिकालीन यात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । तीर्थयात्री चढेको काठमाडौंबाट महोत्तरीका लागि छुटेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बसमा बिहीवार बिहान किरब १ बजे बस दुर्घटना भएको हो । बसमा करिब ३० जना यात्रारत थिए । चुरियामाईको बारातर्फ पूर्व–पश्चिम राजमार्गको ओरालोबाट बस खोलामा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ६ भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । भारतीय ६ जनाको शव भारतीय दुतावासले बुझेर लगेको उनले बताएका छन् ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको हेटौंडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बस दुर्घटनामा ज्यान गुमाउने सात जनाकै सनाखत भइसकेको छ । ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् । पशुपतिनाथको दर्शन गरी काठमाडौबाट जनकपुरतर्फ बस अगाडि बढेको थियो ।







