हेटौंडामा नवउद्यमशाला बुटक्याम्प गरिँदै
हेटौंडा-उद्योग संघ मकवानपुरको आयोजना तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडा र अन्तरप्रेरणा प्रालिको सहकार्यमा नवउद्यमीलाई लक्षित ए.आई.एम. नवउद्यमशाला बुटक्याम्प गर्ने भएको छ ।मकवानपुर क्षेत्र भित्रका उद्यमशीलताको परिस्थिति प्रणालीलाई सुदृढ गर्ने लक्ष्य राखेर यस्तो कार्य गर्न लागेको संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दैै कार्यक्रमबारे जानकारी दिदैं अध्यक्ष प्याकुरेलले भने–‘नविनतम सोच वा व्यवसाय भएकाहरुले नवउद्यमशाला कार्यक्रममा सहभागी हुन सक्ने र युवाहरुलाई आफ्नो नवीन व्यावसायिक विचारलाई दिगो व्यवसायमा परिणत गर्नको लागि ए.आई.एम. नवउद्यमशाला बुटक्याम्प गर्न लागेका हौं ।’
कार्यक्रम गर्न बजेट नभएका पनि हामी गर्छौ, सबैको साथ सहयोगले कार्यक्रमलाई सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष प्याकुरेलले बताए । कार्यक्रममा १५ देखि १८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । हामीले फारम भर्न आव्हान गरेका छौं, २३ गतेसम्म आवेदन लिएपछि २० जनालाई छनोट गरिने संघका निवर्तमान अध्यक्ष एंव बुटक्याम्पका कार्यक्रम संयोजक लेखराज
पोखरेलले बताए ।
छनोटमा परेका नवउद्यमीलाई चार दिन कार्यशाला र एक दिन हाटबजारमा संलग्न गराउने र विज्ञहरुमार्फत उनीहरुलाई सल्लाहसुझाव प्रदान गरिने संयोजक पोखरेलले बताए । हेटौंडामा यसप्रकारको कार्यशाला यो पहिलो पटक हुन लागेको हो ।







