हेटौंडा कपडामा मन्त्री चित्रकारको चासो, पुनःसञ्चालन कति सम्भव ?

निशा गुरुङ
२०८० भाद्र ९, शनिबार १३:०३

हेटौंडा-झण्डै २४ वर्षदेखि बन्द रहेको हेटौंडाको कपडा उद्योगमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको नजर परेको छ । मन्त्रालयको कार्यभार सम्हालेको तेस्रो दिनमै मन्त्री चित्रकारको नजर कपडा उद्योगमा परेको हो ।शुक्रवार बिहानै मन्त्री चित्रकारले कपडा उद्योगमै पुगेर निरीक्षण गरेका थिए । उनले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख क्षेत्रव्यवस्थापक भोजराज बिनाडीसँग भेटेर कपडा उद्योगको अवस्था र सञ्चालन गर्न सक्ने सम्भावनका विषयमा चासो राखेका थिए ।

निरीक्षणपश्चात मन्त्री चित्रकारले उद्योगलाई पुनःसञ्चालन नगरेसम्म मुलुकको आर्थिक स्थितिलाई सुधार गर्न नसक्ने बताए । चित्रकारले रोजगार सिर्जना गर्न र मुलुकको अहिलेको अर्थतन्त्रलाई सुधार गर्न यस्ता खालका उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । मन्त्री चित्रकारले प्रदेश सरकारले चालु आर्थिक वर्ष आव २०८०÷८१ सालको बजेटमा उद्योगको विषयमा प्रष्ट बोलेको बताउँदै संवैधानिक रुपमा उद्योग सञ्चालन गर्ने एकल अधिकार प्रदेश सरकारलाई दिएपनि कानुनी अड्चनले गर्दा कार्वान्यन गर्न नसेको उनले बताए ।

मन्त्री चित्रकारले कपडा उद्योग सञ्चालन गर्न तत्काल ऐनहरु संसोधन गर्ने तयारी गरेको जानकारी दिए । आफूले पदबहाली गरेकै दिन तीनवटा ऐनका लागि विद्येयक तयार पारेर संसोधन प्रस्ताव तयार गरी संसदमा लाने निर्णय गरेको बताए । ‘एउटा हष्तकला ग्रामको कुरा नयाँ विधेयकको रुपमा लाने निर्णय भईसकेको छ । दोश्रो कुरा व्यावसायिक ऐनलाई संसोधन गर्ने र औद्योगिक विकास ऐनलाई संसोधन गर्ने कुरा हामीले लगिसकेका छौं ।’, मन्त्री चित्रकारले भने– ‘पहिलो निर्णय नै हामीले ऐनमा, कानुनमा सुधार गर्ने पहलकदमी गरेका छौं ।’,

मन्त्री चित्रकारले हेटौंडा कपडा उद्योग निरीक्षण चर्चाको लागि मात्रै नभई महत्वपूर्ण एजेण्डा बनाउन रहेको बताए । उनले संविधानमा उद्योग प्रदेश सरकारले हेर्ने भन्ने कुरा प्रष्ट राखेपनि कानुनी प्रवन्ध संघीय सरकारकै मातहतमा भएकोले त्यसलाई पहिला प्रदेशमा ल्याउने विधि प्रक्रिया अगाडि बढाउने बताउँदै संघीय उद्योगमन्त्री रमेश रिजालसँग भेटेर अगाडि बढ्ने बताए । औद्योगिक विकासलाई व्यावसायिक प्रवद्र्धन गर्नका लागि बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको दावी गरे ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख क्षेत्रव्यवस्थापक बिनाडीले उद्योगको भवनको स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको बताए । पुरानो मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा मेसिन परिवर्तन गर्नुपर्ने वा नयाँ थप गर्नुपर्ने क्षेत्र व्यवस्थापक बिनाडी बताउँछन् । बिनाडीले भौतिक पूर्वाधार काम लाग्ने भएपनि कपडा उद्योगको मिल मेशनरी मर्मत सम्भार गर्दा सञ्चालमा आउन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार उद्योगमा रहेका मेसिन मर्मत गर्न चीनबाट जनशक्ति ल्याउनुपर्छ ।

चीन सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग २४ वर्षदेखि बन्द छ । २०३२ सालमा निर्माण भएको उद्योग २०४६ को राजनीतिक परिवर्तन पछि लगातार घाटामा गएको र २०५७ फागुन १ बाट बन्द भएको हो । सरकार परिवर्तनसँगै उद्योग सञ्चालन गर्ने वा उत्पादन बन्द गरेर सम्पत्ति बाँडफाँट (लिक्विडेसन) को प्रक्रियामा जाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग पूर्णरुपमा बन्द हुन पुगेको थियो । विभिन्न समयमा उद्योग सञ्चालन गर्ने भन्दै सरकारले बजेट विनियोजन गरे पनि उद्योगमा रहेका पुराना मेसिन र कच्चापदार्थको अभावमा रोकिँदै आएको छ ।

पछिल्लो पटक सुरक्षा निकायको पोशाक उत्पादन गर्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लगानीमा उद्योग सञ्चालन गर्ने तयारी भए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री चित्रकारले उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताए पनि सहज भने देखिँदैन । उद्योगमा ४ सय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् ।

हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगको रेखदेख गरिरहेको छ । उद्योगका धेरै मेसिन अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिकटन धागो, २ करोड ५० लाख मिटर कपडा तथा दिनमै ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने थियो । तत्कालीन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै उद्योगले मुलुकलाई सुती कपडामा आत्मनिर्भरसमेत बनाएको थियो । उद्योग पूर्णरुपमा सञ्चालन हुँदा करिब १२ सय कर्मचारीले एकै छानामुनी रोजगारी समेत पाएका थिए ।

पटक–पटक चर्चा मात्रै

हरेक पटक सरकार परिवर्तन भएसँगै यसको भविष्यबारे चर्चा भइरहन्छ तर, हालसम्म ठोस काम भएको छैन । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले उद्योग सञ्चालन गर्न ८ करोड रुपैयाँ छुट्याएको थियो । ६ करोड रुपैयाँ खर्चेर मेसिन मर्मत गरी उत्पादनको परीक्षण भए पनि आवश्यकताअनुसार कपास उपलब्ध नभएको भन्दै उद्योग सञ्चालनमा आएन ।२०६६ कात्तिकमा उद्योगलाई दोस्रो पटक लिक्विडेसनमा लैजाने प्रक्रिया अगाडि बढाइएको थियो । २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ति सेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र २ सय ३६रोपनी जग्गामा कपडा उद्योग र २ सय ५६ रोपनी जग्गामा आवासरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।उद्योगमा हाल सशस्त्र प्रहरी बलको गण नम्बर १४ को कार्यालय छ । जहाँ ३ सयभन्दा बढी सुरक्षाकर्मी बसिरहेका छन् । उद्योगको आवासीय क्षेत्रको जग्गामा भने नयाँ औद्योगिक क्षेत्र स्थापना गरिएको छ । यो क्षेत्रमा नयाँ ५० उद्योग स्थापना
गर्न सकिने गरी सबै जग्गा औद्योगिक क्षेत्र व्यवस्थापनसमितिले उद्योग स्थापनाका लागि उद्योगीलाई दिएको छ । कुल ३ हजार १ सय १९ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएकोमा हाल ११० वटा उद्योग सञ्चालनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*