सहकारी क्षेत्रको समस्या समाधानमा जनप्रतिनिधिको नेतृत्व आवश्यकः देवकोटा
हेटौंडा- देशव्यापी आर्थिक मन्दिका कारण पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्यालाई सहज तरिकाले समाधान गर्न पालिकास्तरमा जनप्रतिनिधिहरुको सक्रिय नेतृत्वको आवश्यकता औंल्याइएको छ । बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले देशमा व्याप्त आर्थिक मन्दिको असर सहकारी क्षेत्रमा पनि परेको भन्दै त्यसको उचित समाधान गर्न प्रत्येक पालिकामा सहकारी क्षेत्रलाई नियमन गर्न जनप्रतिनिधि सम्मिलित समितिको आवश्यकता रहेको बताएका हुन् । ‘अहिले पालिकास्तरमा सहकारी क्षेत्रलाई हेर्ने एउटा शाखा व्यवस्था गरिएको छ’, उपाध्यक्ष देवकोटाले उक्त शाखाले मात्र वर्तमानमा देखिएको समस्या समाधान गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
‘अहिले पालिकास्तरमा व्यवस्था गरिएको शाखाले सबै सहकारीमा भएको समस्या पहिचान गर्ने र समाधान गर्ने कार्य गर्न सम्भव देखिएन’, उपाध्यक्ष देवकोटाले जनप्रतिनिधि सम्मिलित समिति बनाएर सहजीकरण गर्ने हो भने यो समस्या समाधान चाँडै गर्न सकिने बताए । वर्तमान समयमा सदस्य केन्द्रित रहेर कारोबार गर्ने सहकारीहरु खासै ठूलो आर्थिक समस्यामा नहरेको भन्दै उपाध्यक्ष देवकोटाले थोरै शेयर लिएर धेरै सदस्यमा बचत तथा ऋण कारोबार गर्ने र बहुउद्देश्यीय ढंगले कारोबार फैल्याउने सहकारीहरु समस्यामा परेको स्पष्ट पारे ।
‘सदस्यहरुले लिएको ऋणको साँवा र व्याज नियमित भुक्तानी गर्ने सहकारीहरु एकदम बलियो आर्थिक अवस्थामा छन्’, उपाध्यक्ष देवकोटाले सदस्यहरुले नियमित मासिक बचत नगर्ने, लिएको ऋणको साँवाब्याज भुक्तानी नगर्ने गरेका कारण सहकारीहरु धरासायी हुने अवस्थामा आएको स्पष्ट पारे ।हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै उपाध्यक्ष देवकोटाले सहकारीका सदस्यहरुले इमान्दारिताका साथ सहकारीमार्फत् आर्थिक कारोबार अगाडि बढाउने हो भने सहकारी क्षेत्रले वर्तमान आर्थिक मन्दिको अवस्थामा ठूलो योगदान दिन सक्ने विश्वास व्यक्त गरे ।
सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको सभाध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा संस्थाका सचिव तथा १ नं. वडाध्यक्ष सविन न्यौपानेले सहकारी संस्थाबाट ऋण लिने सदस्यहरुले साँवाब्याज भुक्तानीमा आनाकानी गरेका कारण सहकारीले नियमित ऋण प्रवाह गर्न नसकेको बताए । ‘ऋण लिनेले तिर्दैनन्, सदस्यहरुले नियमित बचत गर्दैनन्, अनि कसरी सहकारी संस्थामा आर्थिक कारोबार चुस्त तरिकाले चल्छ ?’, सचिव न्यौपानेले खराब ऋण उठाउन नसके सहकारी संस्थाहरु धरासायी हुनसक्ने बताए ।
संस्थाका कोषाध्यक्ष दीपक देवकोटाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष गोपालबहादुर थापा, सल्लाहकारहरु फणिन्द्रप्रसाद तिमल्सिना, डीबी थापा र केदारलाल श्रेष्ठ, लेखा समिति संयोजक एसिस रिजाललगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र सहकारीकर्मीहरुको सहभागीताथियो । यसअघि स्थानीय ॐ बृद्धाश्रममा खाद्यान्न तथा आर्थिक सहयोग, खेलकुद, रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै आएको सहकारीले यसवर्ष आर्थिक मितव्ययिता अपनाउँदै कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गर्दै केक काटेर वार्षिकोत्सव मनाएको हो ।







