सुरक्षामा ढुक्क छन् १४ नं. वडाबासी
हेटौंडा-कुनै समय लागुऔषध ओसारपसार र दुव्र्यसनले जरा गाढेको ठाउँ हो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ । वडाका अधिकांश युवा लागुऔषधमा लठ्ठिदै झगडा भएका घटना धेरै हुने गरेका थिए ।पछिल्लो समय वडामा जब प्रहरी बिट स्थापना भयो, त्यसपछि भने लागुऔषध नियन्त्रण हुन थाल्यो । २०७६ माघ २३ गते स्थापना भएको अस्थायी प्रहरीबिट मयुरधापमा बसेपछि स्थानीयलाई धेरै सहज हुन थालेको छ ।राति हिंडडुल गर्न डराउनुपर्ने स्थानीय हाल ढुक्क भएर हिंड्न पाएका छन् । कुनै समय लागुऔषध खाएर दिनहुँ झगडा हुने वडा हाल शान्त देखिन्छ ।
अस्थायी प्रहरी बिट मयुरधापका इञ्चार्ज प्रहरी सहायक निरीक्षक निर्दोष लामाको नेतृत्वमा ७ जनाको टोली खटिएको छ । उनले वडामा लागुऔषध नियन्त्रणमा जोड दिएका छन् । प्रहरी सहायक
निरीक्षक लामाले वडामा लागुऔषध ओसारपसार गर्नेहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाउँदै आएका छन् ।उनले लामो समयदेखि नवीकरण नगरिएका सवारीसाधन नियन्त्रणमा लिनुका साथै फरार प्रतिवादीहरु समाएर कानुनीदायरामा ल्याउने काम गरेका छन् । प्रहरी बिट स्थापनापछि अपराधमा मात्र होइन, जिल्ला प्रहरी कार्यालयसम्म गुनासो लिएर जानुपर्ने समस्या घटेको छ । स्थानीयले सामान्य झगडादेखि गाउँटोलका समस्या प्रहरी बिटमै बताउन सकेका छन् । वडाका प्रहरी साना कार्यक्रममा पनि सहभागी हुने गरेका छन् । काम सकाएर घर फर्कने बेलारातपरे प्रहरीले नै घरसम्म पु¥याउने गरेका छन् ।
वडाअध्यक्ष दीपक खड्काले प्रहरी बिट आएपछि वडाबासीलाई सहज भएको बताए । छिटो र छरितो सेवा लिन र सूचना दिने काम भएको वडाअध्यक्ष खड्का बताउँछन् । ‘प्रहरी बिट स्थापनापछि वडामा चोरी, झैझगडा, लागुऔषध नियन्त्रण भएका छन् । शान्तिसुरक्षामा सहजता भएको र सवारी तीव्रगतिमा कुदाउनेहरु पनि कम भएका छन्,’ खड्का द· छन् । भन्छन्–शान्तिसुरक्षाको काममा गाउँबाटै ढुक्क भएपछि हामी जनप्रतिनिधिलाई पनि विकासका काममा सहज भएको छ । खड्काले प्रहरी बिट इञ्चार्ज लामाको सक्रियताले वडामा अपराधका घटना गर्नेदेखि झगडा गर्ने र लागुऔषध सेवन गर्नेहरुलाई नियन्त्रण लिइएको बताए ।
स्थानीयस्तरमै प्रहरी बिट आएपछि स्थानीयलाई जति सहज हुन्छ, प्रहरीलाई भने उत्तिनै जोखिम छ । गाउँघरमा रिसिइबी साँध्ने र बदलाभावले प्रहरीलाई केही समस्या भने छ । केही समयअघिमात्र इञ्चार्ज लामालाई कार्यालयमा केही युवाले आक्रमण प्रयास गरेका थिए । प्रहरी बिट स्थापनापछि आफूहरुले सुरक्षाको आभाष भएको स्थानीय प्रेमप्रसाद पौडेल बताउँछन् । बेथिति, झैझगडा र लागुऔषध नियन्त्रण भएको उनले बताए । स्थानीय सुरेश रुम्बा वडाको सबभन्दा ठूलो समस्याका रुपमा रहेको लागुऔषध नियन्त्रण भएको बताउँछन् ।
‘समुदायमा सामुदायिक सम्पर्कका माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति नियन्त्रण गर्दै शान्तिसुरक्षा कायम गर्नु हाम्रो मुख्य उद्धेश्य हो,’ प्रसनि लामा भन्छन्–समाजमा प्रहरीलाई साथी हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरीको छविलाई गरिमामय तुल्याउनु हाम्रो लक्ष्य छ । स्थानीय समाज नै मुख्य कार्यथलो रहेकाले प्रहरीको समाजमा शान्ति र सुव्यवस्था कायम गर्नु प्रमुख दायित्व रहेको उनले बताए ।
उनले प्रहरीले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य÷मान्यतालाई संस्थागत् गर्न समुदायसँग मिलेर हाम्रो प्रयासले योगदान पु¥याउने विश्वास रहेको बताए । ‘प्रहरीको प्रतिष्ठा बढाउन तथा कार्यसम्पादनको जिम्मेवारी पूरा गर्न सजगता प्रदान गर्नेमात्र होइन, नागरिकमा शान्ति, सुरक्षा र समाजको विकास÷निर्माणमा पनि हाम्रो संयुक्त प्रयासले निकै सहयोग पुग्नेछ,’ उनले भने । उनले प्रहरीका अन्य सबै कार्यक्रमसँग जोडेर लैजानसके गुणात्मक नतिजा हासिल गर्न सकिने बताए । प्रहरीको संगठन कुनै व्यक्तिविशेषको आदेशमा नभएर विधि र कानुनअनुरुप सञ्चालन हुन्छ भन्ने कुरा आफूहरुले पुष्टि गर्ने उनको दाबी छ ।
‘आमनागरिकले सम्झौता गर्न नसक्ने शान्ति÷सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले दिएको सेवा र जनताको आकांक्षाबीच देखिंदै आएको खाडललाई पुर्न हाम्रो बिट सञ्चालनमा ल्याइएको हो,’ उनको भनाइ छ । नेपाल प्रहरीले शान्ति÷ सुव्यवस्था कायम गरी राष्ट्रको उत्थान हुने गरी ठीक अवधारणाका रुपमा विभिन्न अभियान सुरु गरेको जनाउँदै उनले यसलाई विद्यालयको पाठ्यपुस्तकमा समेत समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । उनले समुदायसँग मिलेर काम गर्ने रणनीति र नेतृत्वको संस्थागत् प्राथमिकताका आधारमा सञ्चालन गरिने अभियानहरुले स्थानीय विद्यालय र समुदाय
बीच हातेमालोसाथ अघि बढाइने जानकारी दिए ।







