हेटौंडामा चोरी गर्ने गिरोह काठमाडौंबाट पक्राउ
हेटौंडा- सिन्धुपाल्चोक घर भई काठमाडौं बस्दै आएको एक गिरोहले हेटौंडा उपमहानगरस्थित एक घरबट सुनलगायतका सामग्री चोरी गरेपछि प्रहरीको फन्दामा परेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरलले हेटौंडा–९, लामसुरेधाप स्थित एक घरमा चोरी गर्ने पाँच जनाको गिरोहमध्ये चार जना पक्राउ परेका छन् । मकवानपुरका प्रहरी प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले गिरोहका ४ जना पक्राउ परेको र १ जना अझै फरार रहेको जानकारी दिए ।
प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–७ बस्ने वर्ष २८ वर्र्षीय भीमलाल लामा, सोही ठाउँ बस्ने २८ वर्र्षीय प्रदीप तामाङ, २९ वर्र्षीय आकाश तामाङ, चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने सोही गाउँपालिकाको वडा नम्बर ६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित ऋतु सुन पसलका सञ्चालक ३१ वर्र्षीय राजेन्द्र रसाइली छन ।उनीहरु काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेको र अझै फरार रहेका एकजनाको खोजी भइरहेको मकवानपुरका प्रहरी प्रमुख एसपी रिजालले जानकारी दिए ।
एसपी रिजालका अनुसार गत ३० साउनमा हेटौंडा–९लामसुरेधापस्थित सुशिला साउदको घरबाट उनीहरुले सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला एक तोलाको एक थान, सुनको चन्द्रा हार एक तोलाको एक थान, सुनको टप ४ आनाको एक जोडी, सुनको मुन्द्रा २ आनाको एक जोडी, घडी एक थान र नगद ३० हजार रुपैयाँ चोरी गरेका थिए ।
उनीहरु गत साउन २९ गते चार जनाको समूहमा २ वटा मोटरसाइकलमा हेटौंडा आएर दिउँसोको समयमा बन्द रहेको घरहरु रेक्की गर्ने कार्य गरेर हेटौंडा बसपार्कमा बास बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एक रात बसपार्कस्थित होटलमा बास बसेर ३१ साउनमा सुशिलाको घर फोडी चोरी गर्ने उनीहरु पथलैयाबाट बर्दिवास हुँदै काठमाडौं पुगेर चोरी गरेको गरगहना बिक्री गरी बिक्रीबाट आएको रकम एकअर्कामा भाग लगाएको एसपी रिजालले बताए ।
प्रहरीले उनीहरुको साथबाट प्रदेश ०२–०२८ प २४२२ नम्बरको मोटरसाइकल र मोटरसाइकलको सवारी दर्ता किताब, ओपो कम्पनीको मोबाइल एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, हुवावे कम्पनीको मोबाइल एक थान, आईफोन मोबाइल एक थान, चोरी भएको सुनलाई गाली पगाली बनाएको सुन जस्तो देखिने पहेलो धातुको झुम्का १ जोर, रामबिला पत्थर झुम्का जोर, पानवाला झुम्का १ जोर, सोलीपट १ जोर, धानको बाला झुम्का १ जोर, औठी ४ थान, आधुनिक झुम्का १ जो आयतकार झुम्का १ जोर, पिजडा मुन्द्रा १ जोर र नगद २४ हजार २ सय रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका ४ जनालाई हेटौंडा ल्याएर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपीरिजालले बताए । उनका अनुसार गिरोहमध्ये एक जना यसअघि मोटरसाइकल चोरीमा पनि संलग्न भएको खुलेको छ । उनीहरु ठाउँठाउँमा चोरी गर्ने गरी समूह बनाएर हिँड्ने गरेको रिजालको भनाई छ ।‘चोरी गर्ने उद्देश्यले समूह बनाएको रहेछ । चोर्नेदेखि सुनको व्यवस्थापनगर्नेसम्म मान्छेको मिलेमतो छ । समूह बनाएर चोरी गर्दै हिँड्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका छौं ।’, रिजालले भने ।







