अपहरणको बहानामा आफैं लुकेर बस्ने प्रजा पक्राउ
हेटौंडा-आफैं लुकिछिपि बसी अपहरणको बहाना बनाउने राक्सिराङ गाउँपालिका–५ का ४६ वर्षीय कुमार प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रजालाई मकवानपुर प्रहरी आईतवार बिहान ५ बजेको समयमा लुकिरहेको स्थानबाट नियन्त्रणमा लिएको हो ।प्रजा यही भदौ ३ गते विहानको समयदेखि आफ्नो घरबाट हराइएको र परिवारसँग सम्र्पकविहिन भएका थिए । प्रजा र सोही ठाउँमा बस्ने निर्मल भन्ने सानुबाबु रुम्बाबीचमा आर्थिक लेनदेन रहेको र दुवैजनाबीच वादविवाद भएको थियो । सोही वादविवादका कारण निर्मल भन्ने सानुबाबु रुम्बाले आफ्नो श्रीमान्लाई बेपत्ता पारी अपहरण समेत गरेको हुनसक्ने भन्दै प्रजाकी श्रीमती आईतीमाया चेपाङले श्रीमान्को खोजतलास गरीदिन र रुम्बालाई आवश्यक कारबाही गर्न प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
इलाका प्रहरी कार्यालय मनहरीले कुमार प्रजाको हुलियाका साथ खोजतलास तथा निजको बारेमा गोप्यरुपमा अनुसन्धान गर्दा श्रीमती र अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएको मकवानपुर प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले बताए । प्रहरीले प्रजालाई मनहरी गाउँपालिका–४ नयाँबस्तीस्थित सूर्यबहादुर प्रजाको घरनजिकै रहेको अनुग्रह चर्चमा फेलापारी नियन्त्रणमा लिइएको प्रहरीप्रमुख रिजालले बताए ।प्रहरीले आफैं घरबाट निस्की लुकीछिपी बसेर अपहरण भएको भनेर किन अफवाह फैलाएको भनि सोधपुछ गर्दा प्रजाले प्रहरीलाई नै अश्लिल शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको उपरीक्षक रिजालले बताए । प्रजामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।







