बकैयामा पहिरोले बस्ती जोखिममा, गाउँ नै अन्धकार
हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिकामा पहिरोले घर बगाउँदा परिवारका अधिंकाश सदस्यको मृत्यु भएको घटना सेलाउन नपाउँदै बकैयामा फेरि पहिरोले बितण्डा मच्चाएको छ ।साउन तेस्रो हप्ता अविरल वर्षाको कारण बिहान ४ बजे गएको पहिरोमा परी ७ जान बेपत्ता भएकोमा १ जना मात्रै बाँच्न सफल भएका थिए । बागमती गाउँपालिका–५, सिक्रेदोभानमा पहिरोले घर बगाउँदा बेपत्ता २ जनाको शव अझै फेला परेको छैन । पहिरोले बगाएका सिन्धुली हरिहरपुर–१ कोकटीका बस्ने १७ बर्र्षीय पासाङ घिसिङलाई मंगलबार बेलुका जीवितै उद्दार गरिएको थियो ।
बागमतीमा पहिरोले ठूलो मावनीय क्षति पु¥याएसँगै मनसुन सक्रिय रहेकाले विपदको जोखिम हटिसकेको छैन । आइतबार बकैया गाउँपालिकामा पहिरो जाँदा पनि आधा दर्जन परिवार थातथलो छोड्न बाध्य भएका छन् । बकैया गाउँपालिका–१२ मा आधा दर्जन घरपरिवारको उठिबास भएको हो । पहिरोले बकैया–१२, धेक्रेकी सीता स्याङतानको घर बगाएको वडाअध्यक्ष ज्ञानेन्द्र बजगाईंले जानकारी दिए । मानवीय क्षति नभएपनि घर क्षति हुँदा अन्नवाली, लत्ताकपडा सबै पहिरोमा पुरिएको छ ।
पहिरोका कारण वडाका आधा दर्जन घरहरु जोखिममा रहेका छन् । स्थानीय पेमा लामाको घरमा पानी छिरेको, तीनघरेकी रीता घलेको घर लड्ने गरी धराप अवस्थामा रहेको वडाअध्यक्ष बजगाईले बताए । भौगोलिक विकटताका कारण जोखिम रहेका क्षेत्रमा पुग्न नसकिएको वडाध्यक्ष बजगाईंले बताए । विद्युत अवरुद्ध हुने जानकारी लिनसमेत असहज भइरहेको उनको भनाई छ ।अविरल वर्षाका कारण आइतबार बस्तीको माथिबाट आएको पहिरोले बकैया–१२ कोलखोपमारहेको मितेरी पावरप्लान्ट बगाएको छ । वडाध्यक्ष बजगाईंले पहिरोले गाउँ नै जोखिममा रहेको र पावरप्लान्ट बगाउँदा अन्धकार भएको जानकारी दिए । पहिरोले पावरप्लान्ट बगाएपछि अहिले गाउँ अन्धकारमय भएको हो । पावर प्लान्टमार्फत १२ नम्बर वडाको कोलखोप, सिमपानी, महादेवडाँडा, चपकी, रातोमाटे, नियाले, चारघरेका स्थानीय प्रभावित बनेको वडाध्यक्ष बजगाईंले जानकारी दिए ।
बकैया गाउँपालिकाको अधिकांश क्षेत्र भौगोलिक रुपमा विकट छ । जसकारण बकैया खोला वरपर पनि बस्ती भएकाले बकैयामा पहिरो र बाढीको उच्चजोखिम छ । बकैया चट्याङको पनि जोखिम क्षेत्र हो । यसअघि १२ नम्बर वडामै चट्याङले एक जनाको मृत्यु भएको थियो । जिल्लामा बकैयामात्र नभई १० वटै स्थानीय तह पहिरो र बाढीको जोखिममा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनका कारण हुने पहिरोको जोखिममा देशभरबाट ३२ जिल्ला र उच्चजोखिममा २२ जिल्ला छन् । जसमध्ये मकवानपुर पनि पहिरो र बाढीको जोखिममा छ ।
मकवानपुरको राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी, बकैया र बागमती गाउँपालिका पहिरोको जोखिममा छन् । जसमध्ये राक्सिराङ र कैलाश गाउँपालिका पहिरोको उच्चजोखिममा छन् ।
हेटौंडा, मनहरी, बागमती गाउँपालिका बाढीको उच्चजोखिमयुक्त क्षेत्र हुन् भने थाहा नगरपालिका, बकैया, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङ तथा कैलाश गाउँपालिका बाढी र
पहिरो दुवैको जोखिम क्षेत्रको रुपमा रहेका छन् ।पूर्र्वीक्षेत्रस्थित बागमतीको बागमती नदीसहित चौराखोला र दर्जन बढी चुरेबाट झर्ने खहरेखोलाको कारण यहाँ वर्षेनि सयौं हेक्टर जमिन कटान हुनुको साथै मानवीय क्षति हुने गरेको छ ।पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ तथा कैलाश गाउँपालिकामा रहेका मनहरी खोला, लोथर खोला तथा राप्ती खोलाले वर्षेनी ठुलो मात्रामा जमिन कटान गर्नुको साथै बस्तिमा खोला पस्ने समस्या रहेको छ । जिल्लाकै पहाडी क्षेत्रमा पहिरोको जोखिम छ ।
हरेकवर्ष बाढी, पहिरो, डुबान चट्याङलगायत प्राकृतिक जोखिम वहन गरिरहेको मकवानपुरमा २०७८ सालमा स्थानीय तहले २ हजार १ सय ६५ भन्दा धेरै घर प्राकृतिक प्रकोपको अतिजोखिममा
रहेका जनाएका थिए । जसमध्ये करिब १ हजार ३ सय घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामारहेका थिए । तर, २०८० असारसम्म आइपुग्दा व्यवस्थित स्थानान्तरणको काम हुन सकेको छैन ।
बकैया गाउँपालिकाको–६ वटा वडामा पहिरो जोखिम छ । फास्ट ट्रयाकको बाटो निर्माण भइरहेको गाउँपालिकामा बाटो निर्माण गर्दा सावधानी नअपनाएकाले ८० घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार ठूलो संख्यामा स्थानीयको ज्यान नै जोखिममा हुँदा पनि सम्बन्धित निकाय मौन छ । बस्ती स्थानान्तरमा सरकारले ध्यान नदिँदा नागरिकले विपद्बाट ज्यान गुमाउनुका साथै थातथलो नै छोड्नुपर्ने बाध्यता आइलागेको छ । २०७२ सालको भूकम्पपछि मकवानपुरमा बाढी तथा पहिरोका घटना बढी हुन थालेका छन् ।







