सुनाचुरी वनको नवनिर्मित भवन उद्घाटन
हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।कूल ६५ लाख लागत रहेको भवन वन समूहका पदाधिकारी र उपभोक्ताहरुको सक्रियताकाकारण ५३ लाखमै निर्माण सम्पन्न भएको हो । भवनको बागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले उद्घाटन गरेकी छन् ।
मन्त्री खड्काले वन जोगाउने अभियानमा लाग्नका लागि सबै पक्षलाई आग्रह गरेकी छन् । वर्तमान पुस्ताले मात्रै वन उपभोग गरेर नहुने र आउने पुस्तालाई पनि वन र प्राकृतिक स्रोत हस्तान्तरण गर्नेगरी संरक्षणमा लाग्नुपर्नेमा खड्काको जोड छ । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सामुदायिक वनको आफ्नै भवन निर्माण हुनु खुसीको कुरो भएको बताए ।
डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले बागमती प्रदेशमा मात्र नभई देशमै राप्ती डिभिजन वन कार्यालयलाई स्रोत केन्द्रको रुपमा विकास गर्दै लगिएको दाबी गरे । चिउरी, दार, छतिवन, निम, सतिसाल, सालक संरक्षणलगायतका काममा डिभिजन वन राप्ति देशमै नमूना बन्दै गइरहेको आचार्यको भनाई छ । जनमैत्री र जनमुखी विकास प्रक्रियालाई अंगिकार गरेर कार्यक्रमहरुलाई भूँइमान्छेसम्म पु¥याउने प्रयत्न भइरहेको उनले बताए ।
समूहकी अध्यक्ष पार्वती मुक्तान तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष युवराज थपलिया, भवन निर्माण अनुगमन समितिका यदुनाथ श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।भवन उद्घाटन कार्यक्रम पछि सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा निर्माण भएको शवदाह गृह र घाटगद्दीको समेत मन्त्री खड्काले अनुगमन
गरेकी छन् । सोही अबसरमा पशुपति सामुदायिक वन उपभोक्ता समूह मनहरी–७ रमन्टारस्थित दिगो वन व्यवस्थापनको ब्लकमा समेत मन्त्री खड्काले अनुगमन र अवलोकन गरिन् । दिगो वन व्यवस्थापनका बारेमा वन प्राविधिक राकेशप्रसाद चन्द्रबंशी, विशाल भट्टराईसहितको टोलीले मन्त्री खड्कालाई जानकारी गराएका थिए ।







