महिला विभागद्वारा सामूहिक रक्षाबन्धन
हेटौंडा-प्रेस चौतारी नेपाल मकवानपुरअन्तर्गत्को महिला विभागले जनैपूणिर्माको अवसरमा सामुहिक रक्षाबन्धन कार्यक्रम आयोजना गरेको छ ।दाजुभाइ र दिदीबहिनी बीच प्रेमको प्रतिक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरुले पुरुषहरुलाई रक्षाबन्धन (डोरो) बाँधिदिएर पर्व मनाइएको हो । पत्रकार महिलाहरु र पुरुष पत्रकारबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहोस भनेर पर्व मनाइएको आयोजक महिला विभागले जानकारी दिएको छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए । महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयोजना गर्ने दर खुवाउने रमाइलोमा सहभागी गराउने गरेको भए पनि प्रेस
चौतारी मकवानपुरमा पुरुषहरुको लागि जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएको यो पहिलो पटक हो ।
समाजलाई सही मार्गमा ल्याउन तथा सही संस्कारको मार्ग दर्शकको रुपमा समेत पत्रकारिताले योगदान गर्न सक्ने प्रेस चौतारी नेपाल पूर्वकेन्द्रीय सदस्य सरिता दाहालले बताइन् । पत्रकारिताको क्रममा संधैं एउटै फिल्डमा हिड्ने क्रम आपतविपत पदा महिला पुरषले दाजुभाइ र दिदीबहिनीका रुपमा सहयोग, भातृत्व, अभिभावकत्व र मित्रताको आभाष संधै भएको उनले बताएकी छन् । औपचारिका रुपमा यसरी कार्यक्रम गरेको भन्दै र यो अवसर दिएकोमा चौतारी मकवापुर महिला विभागलाई दाहालले धन्यवाद दिइन् । नेपाली संस्कृती र परम्परालाई समान मान्यता दिनको लागि पनि यस्ता कार्यक्रमहरु आवश्यक रहेको उनको भनाई छ ।
यसैगरी, चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चौतारी महिला विभाग रचनात्मक काममा लागि परेको भन्दै प्रशंसा गरे । ‘यसरी नेपाली संस्कृति र परम्पराको जगेर्नामा हाम्रा साथीहरु लाग्नु भएको छ, यो कामको उच्चप्रशंसा गर्न लायक छ ।,’ अधिकारीले भने । कार्यक्रममा चौतारीका पूर्वकेन्द्रीय सदस्यहरु दिपेन्द्र रोक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु दिपेश दाहाल, नवीन तिमल्सेना, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम चौतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टको सभाध्यक्षतामा भएको थियो ।







