मयुरधापको जंगलमा भेटियो मानव कंकाल
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१४ मयुरधाप ड्राइभरडाँडामा खप्परसहितको मानव कंकाल फेला परेको छ । शुक्रबार दिउँसो ड्राइभरडाँडामा चुरियामाई जाने बाटोतर्फको झाडीमा खप्पर छुट्टिएको अवस्थामा मानव कंकाल फेला परेको हो ।मकवानपुर प्रहरीप्रवक्ता प्रहरीनायवउपरीक्षक टेकबहादुर कार्कीका अनुसार स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको टोली पुगेको थियो । कंकालको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मयुरधाप प्रहरीमा गत साउनमा एक जना मासिन हराएको भन्दै निवेदन परेको जनाइएको छ । ५ साउन रातको १ बजेको समयमा भीमफेदी गाउँपालिका घरभई ड्राईभरडाँडास्थित चर्चको भवन निर्माणका लागि काम गर्न आएका एक व्यक्ति हराएको भन्दै उनको परिवारले निवेदन दिएका थिए । निवेदनमा गहुँगोरो वर्ण, उचाई अन्दाजी ५ फिट, कपाल छोटो भएको, कालो जिन्स पाईन्ट, फुस्रो फुस्रो हरियो हाफ टि–सर्ट, खुट्टामा कालो चप्पल लगाएको ३५ वर्षको एक पुरुष हराएको उल्लेख थियो । हराएका भनिएका व्यक्ति र
शुक्रबार भेटिएको कंकाल बारे थप जानकारी मकवानपुर प्रहरीले दिएको छैन । मानव कंकालको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







