मकवानपुरगढीमा श्रीकृष्ण जन्माष्टमीको तयारी
हेटौंडा- मकवानपुरको मकवानपुरगढी दरवार परिसरमा लाग्ने जन्माष्टमी मेलाको तयारी थालिएको छ । मकवानपुरगढी दरवार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो एकादशी, तीज, फागूपूर्णिमालगायत पर्वमा मेला÷जात्रा लाग्दै आए पनि कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको भिड लाग्नेगरेको छ । मकवानपुरगढीको कृष्ण मन्दिर मंगोलियन अनुहारको कृष्ण भगवानको मूर्ति भएको नेपालको एकमात्र मन्दिर मानिन्छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरमा मेला लाग्ने गरेको छ । आगामी बुधबार लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाका लागि दरवार किल्ला परिसरमा सरसफाइ कार्य गत सातादेखि चल्दै आएको छ । सरसफाई कार्यमा वडाध्यक्ष बखानसिं पाख्रिन दैनिक जुट्दै आएका छन् । शनिबारसमेत दरवार परिसरमा सरसफाइमा लागेका वडाध्यक्ष पाख्रिनले भने, दरवार परिसरमा रहेको झाडी फाल्ने काम लगभग सकिएको छ, दरवारको किल्लाको भवनमा उम्रेका घाँस सफाई गर्ने काम भइरहेको छ ।
उनले भने, ‘आफूसहित दैनिक १०–१५ जना लागेर सरसफाईको काम भइरहेको छ, सोमबार सकिन्छ होला ।’ वडाध्यक्ष पाख्रिनले कृष्ण जन्माष्टमीका दिन पूजाआजासँगै मेलाभर्न आउनेलाई लाइनको व्यवस्थापन, पानीलगायतको व्यवस्थाको तयारीसमेत भइरहेको जानकारी दिएका छन् । पछिल्लो समय गढीदरवारको रेखदेख र संरक्षण कार्यको जिम्मा २ नम्बर वडा कार्यालयले पाएको छ ।







