हेटौंडामा मनाइयो मानव बेचबिखनविरुद्धको दिवस

साझाकुरा
२०८० भाद्र १९, मंगलवार ०९:०६

हेटौंडा-हेटौंडा उपमहानगरपालिका तथा मानव अधिकार संरक्षण तथा मानवबेचबिखन विरुद्धको सञ्जालको संयुक्त आयोजनामा मानवबेचबिखनविरुद्धको १७ औं राष्ट्रिय दिवस मनाइएको छ ।दिवसलाई बजार केन्द्रित नगरी ग्रामीण भेगमा पनि संचालन गर्नुपर्ने ध्येयका साथ हेटौंडा उपमहानगरपालिकाको १६ नं वडामा सचेतनामूलक जोडी हाजिरीजवाफ कार्यक्रमको आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको ६, ८, १६, १७ र १८ वडाका ११ जोडी श्रीमान् श्रीमतीले हाजिरीजवाफ प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा ८ नं वडाका रिना र हेमको जोडीले प्रथम स्थान, १७ नं वडाका टाकामाया र हेमप्रसादको जोडीले द्वितीय स्थान र १७ कै बिनु र विकासको जोडीले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

हाजिरीजवाफ प्रतियोगितालाई सन्देशमूलक तबरबाट सञ्चालन गर्नको लागि सेलर्डबाट कानूनी र हेटौंडा उपमहानगरपालिकाबाट सामान्यज्ञानसम्बन्धी संयुक्त रुपमा प्रश्नावली तयार गरिएको थियो । प्रश्नको माध्यमबाट धेरै कुराको जानकारी दिन सकिने र सहभागीको पनि ध्यान केन्द्रित गर्न सकिने भएको हुँदा यो माध्यम निकै प्रभावकारी रहेको हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले वताइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने जोडीलाई पुरस्कार तथा अन्य सहभागी हुने सबै जोडीलाई समेत ससम्मान उपहार प्रदान गरिएको थियो । सबैलाई मानवबेचबिखन तथा ओसारपसारविरुद्धमा सचेत गराउन जोडी बाहेक अन्य सहभागीलाइ पनि प्रश्न सोधी उपहार प्रदान गरिएको थियो ।सचेतनामूलक कार्यक्रम हेटौंडा उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षता र नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलालाइ, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, १७ नं वडाअध्यक्ष उद्धव सत्याल, वडासदस्यहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सञ्जालका संयोजक आरती पाठक, महिला जागरण समूहका अध्यक्ष तारा ढु·ानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाप्रमुख विना ठिकेले गरेकी थिइन् ।

हेटौंडा उपमहानगरपालिका र मानवअधिकार संरक्षण तथा मानवबेचबिखन विरुद्धको सञ्जालमा आवद्ध विभिन्न संघसंस्थाहरुको आयोजनामा गरिएको कार्यक्रममा १६ नं वडा कार्यालय र महिला जागरण समूहले समन्वयकारी भूमिका खेलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*