राक्सिराङमा उपभोक्तामार्फत् गरिने काम व्यवस्थित गर्न कार्ययोजना तयार

साझाकुरा
२०८० भाद्र १९, मंगलवार ०९:१८

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले उपभोक्ता समिति मार्फत् गरिने योजना कार्यान्वयनलाई व्यवस्थित र झन्झटरहित बनाउन स्पष्ट कार्ययोजना र कार्यढाँचा तयार गरेको छ ।गाउँपालिकाले तय गरेको कार्यढाँचाअनुसार योजना कार्यान्वयन गर्दा उपभोक्ता समितिलाई हुने झन्झटको अन्त्य हुनुका साथै कर्मचारी र जनप्रतिनिधिलाई पनि काममा सहज हुने विश्वास गरिएको छ । राक्सिराङले गाउँपालिका तह र वडातहमार्फत् उपभोक्ता समितिबाट गर्ने योजनाको वर्र्गीकरण गरेको छ भने ठेक्कामार्फत् गर्ने योजनाको पनि वर्र्गीकरण गर्दै योजना कार्यान्वयनको कार्ययोजना तयार गरेको हो ।

स्वीकृत कार्ययोजना अनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ ।साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत् र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गरिनेछ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गरी कार्ययोजना लागु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उपभोक्ता समितिमार्फत् काम गर्दा चाहिने आवश्यक कागजात जुटाउने झन्झटको पनि अन्त्य हुने भएको छ ।

उपभोक्ता समिति गठनदेखि भुक्तानीसम्मका सबै कागजातको फाराम समेटिएको किताब नै तयार गरी गाउँपालिकाले वडा कार्यालयमार्फत् वितरण सुरु गर्दैछ । उपभोक्ता समिति गठन, निवेदन, विविध कागजातको नमूना फारामदेखि वडा कार्यालयबाट गरिने सिफारिसको नमूनासहितको किताब उपभोक्ता समितिले प्राप्त गर्नेछन् । सोही किताबमा उल्लेख भएको नमुना फाराम भरी उपभोक्ता समितिले गाउँपालिकासँग सम्झौता गर्न जान सक्नेछन् । सम्झौता भएपछि सो समितिलाई अर्को नमूना फारामसहितको किताब उपलब्ध गराइनेछ । सोही किताबमा उल्लेख भएबमोजिमको फाराम भर्ने र उल्लेखित कागजात पूरा गरेर गाउँपालिकामा पेश गरेपछि अन्तिम भुक्तानी हुने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

उक्त किताबमा डोर हाजिरीको फारामदेखि प्राविधिक र वडा कार्यालयले गर्ने सिफारिस फारामसमेत उल्लेख रहेको उनले बताए । कार्ययोजनाअनुसार काम गर्न उपभोक्ता समितिलाई प्रशिक्षण दिइनेसमेत गर्तौलाले सुनाए । गाउँपालिकाले सोमबार गत आर्थिक वर्षमा गरेको कामहरुको समीक्षाका साथै वडाध्यक्षलाई वार्षिक बजेट, नीति तथा कार्यक्रम पुस्तिका, स्थानीय राजपत्रमा प्रकाशित वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका, उपभोक्ता समितिबाट कार्यान्वयन गरिने योजनाको पुस्तिका हस्तान्तरण गरी चालू आवको योजना कार्यान्वयन सुरु भएको बताएको छ ।

राक्सिराङको खर्च ७३.९ प्रतिशत
राक्सिराङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा ७३ दशमलव ९ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । सोमबार भएको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले गत आवमा ६८ करोड ३२ लाख ५६ हजार रुपैयाँको बजेट विनियोजन भएकोमा समग्र खर्चको अवस्था ७३ दशमलव ९ प्रतिशत
रहेको बताए ।

गत वर्ष पुँजीगततर्फ ८१ दशमलव ९३ र चालुतर्फ ६८ दशमलव ८१ प्रतिशत खर्च भएको छ । बितेको वर्ष ६ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा २१ प्रतशत बढी संकलन भएको बताउँदै प्रशासकीय अधिकृत गर्तौलाले चालू आवमा आन्तरिक आम्दानी १० करोड रुपैयाँ पु¥याउने बताए । वार्षिक समीक्षामा विषयतगत शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्ना शाखाबाट भएगरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा योजनाशाखाका चुननारायण श्रेष्ठ, शिक्षाशाखाका पासाङ तामाङ, पञ्जीकरण शाखाका नवराज रिजाल, सामाजिक विकास, प्रधानमन्त्री रोजगार कार्यक्रम र न्यायिक समितिका गतिविधि गोविन्द विश्वकर्माले प्रस्तुत गरेका थिए । लघुउद्यम विकास शाखाका मानसिं घलान, पशुपंक्षी विकास शाखा ईन्द्रबहादुर जिरेल, कृषि विकास शाखाका संगम विश्वकर्मा, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विजय कापरी, आयुर्वेद शाखाका रामवचन साह, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ बिमला प्रजालेप्रस्तुतीकरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष मल्लले आफूहरु गाउँको व्यवस्थित र दिगो विकासको काममा क्रियाशील रहेको बताए । वार्षिक कार्ययोजना र कार्यविधि निर्माण गरी व्यवस्थित ढंगले बजेट कार्यान्वयन गर्न लागिएको उनको भनाई छ । कर्मचारी र जनप्रतिनिधिले दबाब र प्रभावमा परेर काम गर्न नहुने भन्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीको कार्यक्षेत्र हेरफेर गरिने बताए । गाउँको सेवाप्रवाह चुस्तदुरुस्त गर्दै प्रविधिको प्रयोगमा प्राथमिकता दिइने पनि उनको योजना छ ।

गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले अप्ठ्यारा र चुनौतीहरु पार गर्दै गाउँको विकासमा सबै जुट्नुपर्ने बताएका छन् । कर्मचारीहरुले आफ्नो जिम्मेवारी अनुसारको काम गरी परिणाम निकाल्नु पर्ने बताउँदै समस्याहरु समाधान गर्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा राक्सिराङ–४ का वडाअध्यक्ष सञ्जय कोइराला, कार्यपालिका सदस्य सजिना मुक्तानलगायतले आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*