मकवानपुरमा सार्वजनिक विदा दिने बागमती सरकारको निर्णय

साझाकुरा
२०८० भाद्र १९, मंगलवार ०९:२६

हेटौंडा- बागमती प्रदेश सरकारले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मंगलबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले न्वागी पर्वको अबसरमा तीन जिल्लामा २२ भदौमा विदा दिने निर्णय गरेको हो । बागमती प्रदेशको तीन जिल्ला मकवानपुर, चितवन र धादिङमा अतिसिमान्तकृत चेपाङ जातिको बसोबास रहेको छ ।

चेपाङ समुदायको बसोबास भएका आधारमा मकवानपुर, चितवन र धादिङमा विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले विदा दिनेसहित पाँचवटा निर्णय गरेको छ ।

सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्विकृत गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ)सञ्चालनका लागि म्याचिङ फण्डको सुनिश्चितता गरी नेपाल सरकार, एसियाली बिकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*