वनकरियालाई आयआर्जनमा जोड्न पाडी वितरण
हेटौंडा- मकवानपुरमा मात्र बसोबास गर्ने वनकरिया समुदायको आयआर्जनका लागि पाडी बितरण गरिएको छ । मनहरी गाउँपालिकाले सीमान्तकृत वनकरिया जातिको जीवनस्तर उकास्नको लागि आर्थिक वर्ष २०७९÷८० मा विनियोजित बजेटबाट पाडी वितरण गरेको हो ।३ लाख बजेटमध्ये वडा नम्बर ४ मा बसोबास गर्ने कम आयआर्जन भएका १० घर परिवार सीमान्तकृत वनकरियालाई पाडी वितरण गरिएको हो । ४ नम्बर वडा कार्यालयको सिफारिसको आधारमा पाडी वितरण गरिएको गाउँपालिकालेजानकारी दिएको छ । बिनियोजित बजेट तीन लाख भएता पनि वितरित पाडीको सरदर (ठूलो तथा सानोको) मुल्य २५ हजार रहेको सामाजिक विकास शाखा प्रमुख शैलेश बास्कोटाले जानकारी दिए ।
पाडी वितरणपछि सीमान्तकृत वनकरियाको जीवनमा परिवर्तन आउने अपेक्षा गाउँपालिकाले लिएको छ । पाडी वितरण पश्चात गाउँपालिकाको अन्य विपन्न वर्गले समेत गाउँपालिकाको पशुपन्छी विकास शाखामा पाडी माग गरेको शाखाले जनाएको छ ।पाडीलाई निश्चित समय हुर्काएपछि दूध दिन थाल्ने भएपछि किसानहरु पाडी लिन इच्छुक देखिएका हुन् । भैंसी नै खरिद गर्नुपरे किसानलाई ७० हजारदेखि १ लाख रुपैयाँसम्म पर्न जान्छ । तर, गाउँपालिकाले दिएको पाडी हुर्काएपछि किसानहरुलाई फाइदा हुने बताइएको छ ।







