आत्महत्यासम्बन्धी समाचारलाई केन्द्रबिन्दु बनाउन नहुने

साझाकुरा
२०८३ बैशाख १२, शनिबार ०७:५४

हेटौंडा- आत्महत्यासम्बन्धी समाचारलाई केन्द्रबिन्दु बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना एवम् पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा शुक्रबार भएको आत्महत्या रिपोर्टिङ सम्बन्धी सञ्चारकर्मीसँगको अभिमुखीकरणमा आत्महत्यासम्बन्धी घटनाको समाचारलाई केन्द्रबिन्दु नबनाउन र अनावश्यकरुपमा दोहो¥याउन नहुने बताइएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले प्रस्तुतीकरण राख्दै त्यस्ता घटनालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र एकमात्र सही समाधानको रुपमा चित्रण गर्नुपर्ने बताएका छन् । तथ्याङ्क र सूचनालाई होसियारीपूर्वक र सही तरिकाले प्रस्तुत गर्नुपर्नेमा उनको जोड थियो ।

प्रमुख श्रेष्ठले सञ्चारकर्मीले रिपोर्टिङ गर्दा आत्महत्याको साधन र तरिकाबारे व्याख्या नगरी घटना भएको स्थान बारे पनि विस्तृत जानकारी दिननहुने बताए । त्यस किसिमको समाचार सामग्रीबाट सञ्चारकर्मीलाई पनि असर पर्नसक्ने बारे सञ्चारगृह र सञ्चारकर्मी सचेत रहन उनले आग्रह गरे ।प्रमुख श्रेष्ठकाअनुसार मकवानपुरमा चालु आर्थिक वर्षको हालसम्म ३१ जना महिला र ४८ जना पुरुष गरी ७९ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा ४८ जना महिला र ९२ जना पुरुष गरी १ सय ४० जना, आर्थिक वर्ष २०८१÷८२ मा ४८ जना महिला र ८२ जना पुरुष गरी १ सय ३० जनाले आत्महत्या गरेका थिए ।

त्यसैगरी प्रदेशगतरुपमा गत आर्थिक वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा २१ प्रतिशत आत्महत्याका घटना हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ प्रतिशत घटना घटेका छन् । त्यसैगरी बागमतीमा २०, लुम्बिनीमा १९, मधेशमा १८, गण्डकी र सुदुरपश्चिममा ९ प्रतिशत आत्महत्याका घटना घटेको प्रमुख श्रेष्ठको प्रस्तुतीकरणमा उल्लेख गरिएको छ । नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्युहुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै ७ हजार ५५ जना आत्महत्याको कारण ज्यान गएको थियो भने प्रतिलाखमा करिब २४ जनाले आत्महत्याको कारण ज्यान गुमाएका थिए । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को अनुसार ६ दशमलब ५ प्रतिशत वयस्क र ३ दशमलब ९ प्रतिशत किशोरकिशोरीमा आत्महत्याको सोच रहेको पाइएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या रोकथाम र नियन्त्रणको लागि २४ सै घण्टा उपलब्ध हुने ११६६ नम्बरको हटलाईन सेवा सञ्चालन गरिरहेको छ । पत्रकार महासंघ मकवानपुर शाखाअध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, महासंघका पूर्वअध्यक्ष राममणि दाहाललगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*