यातायातमा ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयन गर्न विद्यार्थीको माग

साझाकुरा
२०८३ बैशाख १२, शनिबार ०८:०८

हेटौंडा- मकवानपुरमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत यातायात छुट पूर्णरुपमा कार्यान्वयनको माग सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रवार हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यवाहक अध्यक्ष भरतमोहन देवकोटाको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा नेपाल सरकारद्वारा व्यवस्था गरिएको सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट प्रदान गर्ने नीति व्यवहारमा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको स्ववियु सदस्य नितेश भण्डारीले बताए । जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनले छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने जस्ता गुनासा आइरहेकोले त्यस समस्याको समधानका लागि आग्रह गरिएको छ ।

सार्वजनिक यातायातका साधनले नेपाल सरकारको नीति अनुसार विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई अनिवार्य र प्रभावकारी रुपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइदिन आग्रह गरिएको छ । यो विषयमा समयमै आवश्यक कदम चालिएन भने, विद्यार्थीको हकहितको संरक्षणका लागि स्ववियु हेटौंडा क्याम्पस थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*