व्यक्तिगत खर्च गरेर सडक निर्माण
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आफूलाई प्राप्त हुने तलब भत्ताको सेवासुविधा सहित व्यक्तिगत खर्च व्यहोरेर मनहरी गाउँपालिका वडा २ को स्ल्याव ढलान गरेका छन् । गत कात्तिक २९ मा उनले औपचारिक कार्यक्रमबीच व्यक्तिगत लगानीमा स्ल्याव ढलान गर्ने औपचारिक घोषणा गरेसँगै निर्माण प्रक्रिया अगाडि बढेको थियो । वडा नम्बर २ कार्यालय भुन्द्रुङटाँडीदेखि कर्मचोकको गाउँवस्तीलाई जोड्ने २०० मिटर सडकलाई स्ल्याव गरिएको हो । यहाँ कुल २० लाख रुपैयाँ लगानीमा २०० मिटर लम्बाई र ६ मिटर चौडाईमा स्ल्याव ढलान भएको मनहरी गाउँपालिका प्राविधिक टुकराज चौधरीले जानकारी दिए । मनहरी गाउँपालिकाको ९ वडामध्ये सबैभन्दा विकट रहेको २ नम्बर वडा भुन्द्रुङटाँडीका स्थानीय अझैसम्म खानेपानी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र तटबन्धनको समस्यासँग जुध्नुपरेको अध्यक्ष कालाखेतीले बताए ।
स्थानीयहरु दैनिकजस्तो यस्ता आधारभूत आवश्यक्ताको समस्या लिएर पालिका धाउने गरेको उनले बताए । त्यसो त वर्षौंदेखि पक्की सडकको पर्खाइमा रहेका कर्मचोकका स्थानीयको समस्यालाई सम्बोधन गर्दै बाटो निर्माणकार्य थालनी गरिने प्रतिबद्धता जाहेर गरेका कालाखेतीले विहीबार नवनिर्मित स्ल्यावको उद्घाटन गरे । ‘जनप्रतिनिधिले पारदर्शी ढंगले सेवाप्रवाह गर्नुपर्छ भन्ने सिद्धान्त बोकेर हिँडेको छु । जनप्रतिनिधि हुनेवितिक्कै बजेटमाथि भ्रष्टाचार गर्ने, कमिसन हात पार्ने लगायत नागरिक भाष्यलाई चिर्दै आफ्नो कार्यकाललाई उदाहरणीय बनाउन तत्पर छु । दलीय स्वार्थभन्दा माथि उठेर आगामी दिनमा स्थानीयको समस्या र आवश्यक्तालाई सम्बोधन गर्ने प्रतिवद्धता गर्दछु’ उनले भने । कार्यक्रममा वडाअध्यक्ष राजकुमार पाख्रीनले वडा कार्यालय जोडिएकै सडक कच्ची रहँदा स्थानीय वर्षौदेखि समस्यामा रहेकोे बताए ।







