कानून कार्यान्वयन भए सेवा प्रवाह प्रभावकारी हुन्छ : उपसभामुख चापागाई

साझाकुरा
२०८३ बैशाख १२, शनिबार ०७:५१

हेटौंडा- बागमती प्रदेशसभाकी उपसभामुख अपसरा चापागाइँले स्थानीय तह र प्रदेशसभाबीचको समन्वयमा निर्माण भएका कानुनलाई कार्यान्वयन गरी सेवाप्रवाहमा प्रभावकारीता ल्याउन सकिने बताएकी छन् । बागमती प्रदेशसभा सचिवालयको आयोजनामा थाहा नगरपालिकामा भएको बागमती प्रदेशसभा र स्थानीय तहबीच कानून कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा उपसभामुख चापागाईँले यस्तो बताएकी हुन् ।बागमती प्रदेशले निर्माण गरेको कानून कार्यान्वयनको अवस्था तथा स्थानीय तहको कानून निर्माण र कार्यान्वयनको विषयमा केन्द्रित अन्तरक्रियामा चापागाईँले प्रदेश कानून बनाएर पठाइरहने त्यसको प्रभावकारीता र जटिलताको विषयमा कहिल्यै छलफल नगर्ने परिपाटीले समस्या सृजना हुने उनको भनाइ थियो । यही कुरा बुझ्नलाई कानून कार्यान्वयनको तह पालिकामै यस किसिमको कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

‘अघिल्ला वर्षमा जिल्ला समन्वय समितिमा यस किसिमको कार्यक्रम गरिँदा प्रभावकारिता देखिएन’ उनले भनिन्–‘कानून कार्यान्वयन गर्ने तह पालिकाहरुमै यसकोे अवस्थाको विषयमा छलफल तथा अन्तरक्रिया गर्दा जटिलता र प्रभावकारतिा दुवै मूल्यांकन गर्न पायौं, त्यसकै आधारमा केही कानून संशोधनको प्रक्रियामा समेत गइसकेको छन् ।’ कानुन निर्माण र कार्यान्वयनको अवस्थाको विषयमा वडातहसम्म छलफल तथा अन्तरक्रिया पु¥याउनसके झन प्रभावकारी हुने उनका भनाइ थियो । बागमती प्रदेश सांसद तथा पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्माण भएका कानुन एकातिर कार्यान्वयन अर्कातिर हुँदा योजना छनोटदेखि कार्यान्वयन र अन्य पक्ष पनि प्रभावित हुनपुगेको बताइन् । ‘जब कानुनको नपछ्याई काम गर्न थालिन्छ त्यसले सकारात्मक रिजल्ट दिदैन’ सांसद मोक्तानले थपिन् । इन्द्रायणीचौरमा निर्माणाधीन कभर्डहलको प्रसंग कोट्याउँदै भनिन्–‘कभर्डहललाई बजेट विनियोजन गर्नुस् है भनेर यसै क्षेत्रको सांसदको हैसियतले भनिरहेँ तर, दुईवर्ष निरन्तर काम भएको योजनालाई चालु आर्थिक वर्षमा बजेट परेन ।’

कभर्ड हल बहुवर्षे योजना भन्ने थाहा छ, कानुनले योजना पूरा गर्नुपर्छ भन्छ तर, कार्यान्वयन नभएको मोक्तानले बताइन् । उनले अन्तरतह समन्वयबाट नै विकासले गतिलिने बताइन् । थाहा नगरप्रमुख विष्णुबहादुर विष्टले प्रदेश र स्थानीय तहबीचको सम्बन्ध वर्षदिनमा एकपल्ट बजेट माग्न जाने मात्र भएको प्रस· सुनाए । नगरप्रमु्ख विष्टले बजेट लिने र दिने मात्र नभई कानून निर्माण तथा कार्यान्वयनको विषयमा पहिलोपटक समन्वयगरेको बताउँदै प्रदेशसभा सचिवालयलाई धन्यवाद दिए । विष्टले स्थानीय कानून निर्माण प्रक्रिया, जटिलता र कार्यान्वयनको विषयमा आफ्नो धारणा राखेका थिए । उनले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने बताए ।

नगर उपप्रमुख भरत गोपालीले प्रदेश र स्थानीय तहबीचको सम्बन्ध कमजोर भएको बताउँदै योजना विनियोजन, कार्यान्वयनदेखि हरेक कुरामा समन्वय गर्न आग्रह गरे । उनले पालिकाको न्यायिक समितिले गरेको कामको प्रगतिको विषय पनि सुनाएका थिए । कार्यक्रममा थाहा नगरका प्रमुख प्रशासकीयअधिकृत निरज पौडेलले स्थानीय तहको अधिकार क्षेत्रकै कानून निर्माण गर्न पनि दक्ष जनशक्तिको अभाव रहेको बताए । कानून निर्माणका लागि त्यस विषयसँग सम्बन्धीत जनशक्तिको दरबन्दी स्थानीय तहमा नहुने हुँदा जटिलता उत्पन्न भएको धारणा राख्दै यस विषयमा प्रदेशले चासो दिनुपर्ने पौडेलको भनाइ थियो ।

त्यसैगरी प्रदेशले कर्मचारी सरुवाको बाटो खोलिदिए पनि साविक गाविस, नगरपालिका तथा त्यस्तै प्रकृतिका कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको अवकास कोषको विषयमा चुपो लागेको बताउँदै यसलाई प्राथमिकतामा राख्न आग्रह गरे । सो अवसरमा स्थानीय तहलाई कानूनीशिक्षा, कानून निर्माण र कार्यान्वयमा सबलीकरण आवश्यक भएको औंल्याए । बागमती प्रदेशसभा सचिव रामकुमार पौडेलको उपस्थिति रहेको कार्यक्रममा संघीयता कार्यान्वयन पश्चात् भएका प्रगति, संविधानमा उल्लेख प्रदेश तथा स्थानीय तहको अधिकारका सवाल लगायत अन्तरतह समन्वय र कानून कार्यान्वयनको विषयमा संविधानविद् खिमलाल देवकोटाले सहजीकरण गरेका थिए ।

सहभागीले उठाएका विषयवस्तुमा जवाफ दिंदै सहजीकरण गरिएको थियो । कार्यक्रममा नेकपा थाहानगर संयोजक बिनोद लामा, थाहा नगरपालिका लेखाअधिकृत अमर जिसी, ३ नम्बर वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, सूचना, खानेपानी तथा पर्यटन शाखाप्रमुख सुरजकुमार भुजेल, सामाजिक विकास शाखाप्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगीलगायतले प्रदेश तथा स्थानीय कानुन निर्माण र कार्यान्वयनको विषयमा भनाइराखेका थिए । उपसभामुख चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा कानून उपसचिव प्रकाश चापागाईँ, कानून अधिकृत शान्ति दाहाल, नेपाल भाषा अनुवादक रविन्द्र नापित लगायत थाहा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*