हेटौंडासहित बागमतीमा २० वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
हेटौंडा- पछिल्ला दिनहरुमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दै गएपछि चार्जिङ स्टेसन निर्माण गर्ने क्रम बढेको छ । बागमती प्रदेशभित्र निर्माण गरिएका २० वटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।बागमती प्रदेशको मकवानपुरसहित चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र सिन्धुलीमा निर्माण गरिएका २० वटा विद्युतीय चार्जिङ स्टेशनको बुधवार एकैपटक उद्घाटन गरिएको हो । नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेशसहित देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन गरेको हो ।
जसमध्ये २० वटा विद्युतीय चार्जिङ स्टेशन बागमती प्रदेशभित्र रहेका छन् ।प्राधिकरणले हेटौंडा–१५, रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरेको छ । रातोमाटेको विद्युतीय चार्जिङ स्टेशन पनि सञ्चालन ल्याइएको छ । बागमती प्रदेशको चितवनस्थित मुग्लिनमा १ वटा र पारस बसर्पाकमा २ वटा, धादिङको धार्केमा २ वटा, काठमाडौंको विभिन्न स्थानमा गरी ६ वटा, ललितपुरमा १ वटा, सिन्धुलीमा ३ वटा, भक्तपुरमा १ वटा र नुवाकोटमा २ वटा विद्युतीय चार्जिङ स्टेशन प्राधिकरणले निर्माण गरेको थियो ।
काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसन बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारीदिएका छन् ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना र ठूला सवारीसाधनहरु चार्ज गर्न मिल्ने छन् । उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए । विद्युतीय सवारी साधनको प्रवद्र्धन नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्ने कार्य भइरहेको
बताए ।
आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । विद्युतीय सवारी साधन पेट्रोलियमपदार्थबाट चल्नेभन्दा २० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट नेपालको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । घिसिङले प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको समेत जानकारी दिए ।
एसियाली विकास बैंककी दक्षिण एसिया उर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिइन् । चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्रीका क्षमता अनुसार कम्तिमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छन् ।
आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियमपदार्थको खपत न्यूनीकरण गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेसन स्थापना गरिएको हो । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी फास्ट चार्जर र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीनवटा सवारी साधनले एकसाथ चार्ज गर्न सकिने छ ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्र्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ ।







