मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना
हेटौंडा- मानवबेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस हेटौंडामा पनि मनाइएको छ । ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धताः सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ बुधबार विभिन्न संघसस्थाले सचेतनामूलक कार्यक्रम गरी दिवस मनाएका हुन् । माइती नेपाल, साना हातहरु, हिमराइट्स, हेटौंडा उपमहानगरपालिका–११ को कार्यालय, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलगायतको आयोजनामा हेटौंडा–११ थानाभ¥याङमा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा माइती नेपाल मकवानपुर संयोजक माया लामाले पछिल्लो समय चेलीबेटी बेचबिखन र मानवतस्करीको स्वरुप बदलिएको बताइन् । लामाले पहिले भारतका विभिन्न स्थानसम्म चेलीबेटी बेचिने हुने गरेको भएपनि हालको समयमा नेपालकै सहरमा चेलीबेटी बेचिन बाध्य भैरहेको बताइन् । बेचबिखनविरुद्ध सरकारले सुक्ष्मढंगले अनुगमन र अनुसन्धान गर्न जरुरी रहेको संयोजक लामाले बताइन् ।
कार्यक्रममा जनचेतना मूलक सामग्री प्रदर्शन गरिएको थियो भने नेपालमा चेलीबेटी कसरी बेचिन्छन ? अवस्था कस्तो छ ? भन्नेबारे जानकारी दिइएको थियो । हेटौंडा उपमहानगरपालिका–११ कि वडाध्यक्ष जुना दाहाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ, माइती नेपालकी संयोजन लामा, हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबा, साना हातहरु नेपालका डिकम्बर रुपाचालगायतको उपस्थिति रहेको थियो ।
सन् २००२ मा काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धिलाई २०६३ साल भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको हो । प्रविधिको विकाससँगै मानवबेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । बिगतमा भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानवबेचबिखन हुने गरेकोमा अहिले नयाँनयाँ बाटो र गन्तव्यमार्फत् बेचबिखन हुने गरेको पाइएको छ ।







