सामाजिक विकास मन्त्री मोक्तानद्वारा ब्युटी पार्लर उद्घाटन
हेटौंडा-महिला सेवाग्राहीको सौन्दर्यको सवालमा हातेमालो गर्न हेटौंडा–४ कान्तिराजपथमा अलोरा ब्युटी पार्लर खुलेको छ । पार्लरको उद्घाटन गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले महिलालाई सीप दिएर सक्षम बनाउन सकेमा महिलामाथी हुने हिंसा कम हुने अपेक्षा व्यक्त गरिन् ।उद्घाटन कार्यक्रममा मन्त्री मोक्तानले सेन्टरले महिला दिदिबहिनीलाई सीप सिकाई आत्मनिर्भर बन्न प्रेरित गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।
सीप सिकेर लामो समय विभिन्न पार्लरमा काम गरेको १५ वर्षको अनुभव सहित सौन्दर्यकर्र्मी अञ्जु तुम्सिङ मगरले अलोरा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सुरु गरेकी हुन् । छालाको उचित हेरचाहले बुढ्यौलीलाई छेक्नेमात्रै काम गर्दैन सँगसँग विभिन्न रोगबाट समेत बचाउँछ । पछिल्लो समय ब्युटी पार्लर सुन्दरतासँग मात्रै हैन व्यवसायसँग जोडिएको छ । सीप सिकेर आत्मानिर्भर बन्नको लागि दरीलो व्यवसाय बनेको अञ्जु बताउँछिन् । उनले हालसम्म ५ सय बढीलाई पार्लरको सीप सिकाएर स्वरोजगार बनाएकी छिन् ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित कान्तिराजपथ कुमारी बैंक नजिकै रहेको अलोरा ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरमा सुरुवाती समयमा तालिमको लागि भर्ना हुने विद्यार्र्थीलाई बिशेष छुट सुविधा प्रदान गरिने अञ्जुले बताइन् । समुद्घाटनमा मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललित घलान, बागमती गाउँपालिका प्रमुख सर्केश घलानलगायतको उपस्थिति थियो । आफूले सिकेको सीपलाई अन्यमा समेत ज्ञानको रुपमा दिने र आफ्नो पार्लर खोल्ने सपना अलोराले पुरा गरेको बताउँदै अञ्जुले भनिन् ‘मेरो सपना पूरा भएको छ अब अरु बहिनीहरुमा सपना देख्नको लागि सक्षम बनाउने मेरो जिम्मेवारी हुनेछ ।’ अञ्जु महिला सौन्दर्यको क्षेत्रमा सफल व्यवसायीको रुपमा
परिचित छन् ।







