‘कान्तिमा मृत्यु भएकी थाहाकी बालिकाको जिम्मेवारी अस्पतालले लिनुपर्छ’

साझाकुरा
२०८० भाद्र २२, शुक्रबार १२:३७

हेटौंडा-मकवानपुरको थाहा नगरपालिकाकी ५ बर्षीया बालिकाको मृत्युको जिम्मेवारी कान्ति बाल अस्पतालले लिनुपर्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताएका छन् ।कान्ति बाल अस्पतालमा गत १८ गते भएको एक बालिकाको मृत्यु बारे संसदमा बोल्दै अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको र त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल व्यवस्थापन, अस्पताल निर्देशक तथा स्वास्थ्य मन्त्राललयले लिनुपर्ने सांसद बर्तौलाले बताए । मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्र न २ बाट निर्वाचित बर्तौलाले आफ्नो निर्वाचन क्षेत्र भित्रकी बालिका मृत्युको सवालमा संसदमा बोलेका हुन् ।

अस्पतालको लापरबाहीले गर्दा एउटा बाबुको सपना तुहिएको र परिवारमा दुःख परेको बताउँदै सचेतक बर्तौलाले भने ‘जीतबहादुर गोपाली यतिबेला पोर्चुगलमा हुनुहुन्छ, आफ्नो छोरीको सुन्दर भविष्यको सपना बोकेर उचित शिक्षादीक्षा दिउँला भनेर, छोरीको भविष्य उज्वल बनाउन उहाँ एक वर्षदेखि पोर्चुगलमा हुनुहुन्छ, यहाँ स्वस्थ्यसेवा प्रदायकको यस्तो लापरबाही ?’

जीतबहादुको एउटा मात्रै सन्तान हुन् ५ बर्षे रेजीसा गोपाली । उनको सपना कान्ति बाल अस्पतालको चरम लापरबाही, गैरजिम्मेवारीपनका कारणले गर्दा चकनाचुर भएको बर्तौलाले बताए । बर्तौलाले अस्पातलले ईमर्जेन्सीको उपचारका लागि दुई घण्टासम्म डाक्टर भेट्ने पालो नदिँदा तथा अस्पतालका पालेलाई बालिकाकी आमाले अनुनयविनय गर्दा पनि भित्र प्रवेशमा ढिलाई गर्दा मृत्यु भएको उल्लेख गर्दै पीडित परिवारले न्याय पाउनु पर्ने उनले बताए ।

अस्पताल व्यवस्थापन तथा अस्पताल निर्देशकलाई छानवीनको दायरामा ल्याउन माग गर्दै पीडित परिवारलाई आवश्यक क्षति भराउन माग गरे । बालिका मकवानपुरको थाहा नगरपालिका–१० की हुन् र उनी आफ्ना आमासँग काठमाडौको बाफल बस्दै आएकी थिइन् । उच्च ज्वरो आएपछि उपचारको लागि कान्ति बाल अस्पताल लगिएकोमा पालो कुर्दाकुर्दै इमर्जेन्सी वार्डमा उनको निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*