भीमफेदीको दरबारडाँडा वनमा ‘दार पकेट क्षेत्र’
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–१ मा रहेको दरबारडाँडा सामूदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ । विहीबार डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा एक कार्यक्रम गर्दै दार वृक्षरोपण गरिएको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहालको प्रमुख आतिथ्यतामा दार पकेट क्षेत्र घोषणा गरिएको हो । मकवानपुरको चिनारीको रुपमा रहेको दारको ठेकी लोप हुदैँ गएपछि मकवानपुरको विभिन्न स्थानहरुमा दारको वृक्षरोपण कार्यलाई डिभिजन वनले अगाडि सार्दै आएको छ ।
दरबारडाँडा वनको करिब २ हेक्टर क्षेत्रफलमा १ हजार ४५० वटा विरुवा रोप्ने लक्ष्य लिइएको हो । विहीबारबाट सुरु गरिएको विरुवा रोप्ने कार्यक्रममा पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्य, डिभिजन वन मकवानपुर हेटौंडाका प्रमुख शिवप्रसाद सापकोटा, सहायक वन अधिकृत बसन्तराज गौतम, भीमफेदी–१ का वडाअध्यक्ष सोमबहादुर स्याङ्तान, मकवानपुरगढी–५ का वडासदस्य अर्जुनबहादुर रुम्बा, वन समूहका अध्यक्ष पूर्णबहादुर स्याङ्तान, सचिव शर्मिला महत, बद्रीप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुरमा पहिलोपटक दार पकेट क्षेत्र घोषणा गरिएको हो । मकवानपुरको पहिचान दारको ठेकीलाई पुनर्र्जीवन दिने उद्देश्यले दारको विरुवा लगाउने अभियानमा लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख आचार्यले बताए ।पछिल्लो समय दार लोपोन्मुख हुने अवस्थामा पुगेकोले पनि दार वृक्षरोपणमा सबै सामूदायिक वनकर्र्मी लाग्नुपर्ने बताएका छन् । यसअघि बकैया गाउँपालिका–१२ चपकीमा पनि एक हजार दारको विरुवा रोप्ने काम भइसकेको छ ।







