तीजको अवसरमा काँग्रेस नगर समितिद्वारा महिला उद्यमी सम्मान
हेटौंडा-नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिले शनिबार हेटौंडामा आयोजना गरेको विशेष कार्यक्रमबीच नगरका महिला उद्यमीहरुलाई सम्मान गरेको छ। ‘महिला उद्यमशिलता प्रबद्र्धन गरौं, आत्मनिर्भरतातर्फ अगाडि बढौं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आयआर्जनसँग जोडिएका प्रत्येक वडाबाट एक–एक व्यक्ति तथा समूहलाई सम्मानित गरिएको नगर सचिव सविन न्यौपानेले जानकारी दिए ।
सम्मानित हुनेमा वडा नं. १ बाट पाथिभरा साबुन सर्फ उद्योग, वडा नं. ३ तालिम प्रशिक्षक सुनिता तितुङ, ४ नं. वडाबाट रिनाज व्यटिपार्लर एण्ड टे«निङ सेन्टर, वडा नं. ५ बाट क्रिस्टल गहना प्रशिक्षक गंगा अधिकारी, वडा नं. ६ बाट भवानी उन्नत जात बाख्रा तथा कृषि फर्म, वडा नं. ७ बाट व्यटिपार्लर एण्ड टे«निङ सेन्टरका संचालक नितु गौताम, वडा नं. ८ बाट चुरियामाईं कृषि फर्म, वडा नं. ११ बाट मकवानपुर नर्सरी तथा बहुउद्देश्यीय कृषि फर्म, वडा नं. १२ बाट माछा मासु व्यवसायी असली थिङ, वडा नं. १३ बाट विकास पशुपालन फर्म, वडा नं. १५ बाट सक्रिय कृषि समूह, वडा नं. १६ बाट उद्यमी महिला कृषि समूहका निर्मला गोले, वडा नं. १७ का श्रवण महिला समूह र वडा नं. १९ का सिलाई कटाई प्रशिक्षक दुर्गा फुयाल रहेका छन् ।
कार्यक्रम संयोजक तथा नगर उपसभापति डोल्मा स्याङ्बोको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य नानू बास्तोलाले अब महिलाहरु आयआर्जनसँग जोडिएर अगाडि बढ्नु पर्ने बताइन् । ‘अब महिलाहरु तीजको अवसरमा दुःख पीडाका कुरा मात्र नभएर आयआर्जन र समृद्धिका लागि अगाडि बढ्ने प्रेरणाका गीतहरु गाउनु पर्छ’ केन्द्रीय सदस्य बास्तोलाले संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवर्तन भनेको महिलाको क्षमता विकास र नेतृत्व विकाससँग जोडिएको बताइन् ।
नेपाली काँग्रेस पार्टीले नारामा मात्र नभई व्यवहारमा आर्थिक समृद्धि चाहेको भन्दै महिलाहरुले अधिकार माग्दै गर्दा आफ्नो उद्यमशिलता विकास र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने केन्द्रीय सदस्य बास्तोलाको जोड थियो । उनले समानुपातिक तथा समावेशी व्यवस्थासँगै महिलाहरु जिम्मेवार पदमा पुगेपनि अपेक्षाकृत क्षमता प्रदर्शन गर्न नसक्नु महिलाहरुकै कमजोरी र अझै पनि महिलालाई पछाडि पार्ने पुरातन सोच कारक रहेको स्पष्ट पारिन् ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, नेपाली काँग्रेस महासमिति सदस्य तथा निवर्तमान नगर सभापति आनन्दराम पराजुली, जिल्ला सहसचिव इन्दिरा न्यौपाने, नगर सभापति उत्सव इटेनी, नेपाल महिला संघ जिल्ला सचिव मिलन देवकोटालगायतले महिलाहरुको नेतृत्व विकास र उद्यमशीलता विकासमा काँग्रेस पार्टी सदैव अगाडि रहेको बताए ।
पार्टी हेटौंडा १५ नं. इकाई सचिव शान्ति स्याङ्बोले संचालन गरेको कार्यक्रममा लोक गायिका प्रतिमा अर्यालले सहभागि महिलाहरुलाई भरपुर मनोरञ्जन सहित नचाएकी थिइन् ।







