हेटौंडाको अस्तित्वलाई संकटमा पार्नुहुँदैनः व्यवसायी बज्राचार्य
हेटौंडा- हेटौंडाका सुनचाँदी व्यवसायी एवम् समाजसेवी ज्योतिरत्न बज्राचार्यले सडक विस्तारको बहानमा हेटौंडाको अस्तित्वलाई संकटमा पार्न नहुने बताएका छन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बज्राचार्यले हेटौंडा बजार क्षेत्रमा रहेका चारवटै राजमार्गलाई २५ मिटर फराकिलो बनाउँदा ऐतिहासिक महत्व बोकेको हेटौंडाको अस्तित्व संकटमा पर्ने दावी गरेका हुन् ।
उनले पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राप्तीरोड र मेनरोड, कान्तिलोकपथ र धरान–चतरा विस्तार गर्दा कान्तिराजपथ तथा त्रिभुवनराज पथ विस्तार गर्दा पिप्लबोट रोड विस्तारहुने बताए । बज्राचार्यको सुन पसल राप्तिरोडमा छ । सडक विस्तार हुँदा उनको सुन पसल पनि हटाउनुपर्ने हुन्छ ।
‘सडक फराकिलो पार्नुपर्छ तर, बजारबाट हाइवे जानुहुँदैन ।’, सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष समेत रहेका उनले अव समयमै वैकल्पिक मार्गको निर्माण गरेर बजार क्षेत्रको सडकलाई ‘सहरी मार्ग’ बनाउने पर्ने बताए । उनले हेटौंडा बजार क्षेत्रको सडक दायाँबायाँ विनामुआब्जा १६÷१६ मिटर विस्तार गरी बाइपास सडक ३२÷३२ मिटरको बनाउन जरुरी रहेको बताए । उनले वीरगञ्ज र नारायणगढमा समेत सडक बाइपास गरिएको र सहरी मार्ग पनि बनाइएको स्मरण गरे ।
उनले हेटौंडा बजार क्षेत्र विस्तार गर्दा राज्यले दिनुपर्ने क्षतिपूर्ति र मुआब्जाभन्दा बाइपास सडक निर्माण गर्दा आर्थिक भार कम पर्ने दावी गरेका छन् । बज्राचार्यले बिभिन्न मितिमा मकवानपुरका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले गरेको प्रतिबद्धतापत्र, सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घरटहरा भत्काउन बिभिन्न मितिमा गरेको फैसलाको पूर्णपाठ, नगरपालिका, डिभिजन सडक कार्यालयबीच भएका पत्राचारका प्रतिलिपिहरु समेत संलग्न गरी संचारकर्मीहरुलाई उपलब्ध गराएका छन् ।







