‘ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नुपर्छ’
हेटौंडा-ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरको ११ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभालाई सम्वोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नुपर्ने बताइन् ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकलाई सदैव सहयोग गर्ने बताइन् । हेटौंडाको कमानेमा निर्माणाधीन ज्येष्ठ नागरिकको भवनको लागि मन्त्रालयले सहयोग गर्ने बताइन् ।
कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद सिग्देलले संस्थागत प्रतिवेदन र सदस्य केशव सञ्जेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा दिब्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला र असहाय ज्येष्ठ नागरिक कृष्णबहादुर ठकुरीलाई सम्मान गरिएको थियो ।संघका जिल्ला अध्यक्ष सिग्देलको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, मंचका उपाध्यक्ष बुद्धिप्रसाद पौडेल, सचिव दीप सुवेदीलगायतको सहभागिता थियो ।







