दुई महिनापछि बसेको प्रदेशसभा ४ वटा विधेयक ल्याएर स्थगित
हेटौंडा- बागमती प्रदेशसभाको गतिरोध हटाउन सभामुख भुवनकुमार पाठकले बोलाएको सर्वदलीय बैठकबाट बागमती सरकार र प्रतिपक्षबीच सहमति भएको छ । बजेट पास गर्नुअघि प्रतिपक्षीसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १८ भदौमा तय भएको बैठकमा अवरोध गर्ने चेतावनी दिएको थियो त्यसयता २ पटकसम्म बस्ने भनिएको प्रदेशसभा बैठक एमालेको चेतावनीपछि हुन सकेको थिएन । जसकारण प्रदेशसभा सञ्चालनका लागि सभामुख पाठक सक्रिय भएका थिए । सभामुखले आइतबार बिहान बोलाएको सर्वदलीय बैठकमा सहमति जुटेसँगै प्रदेशसभा बैठक बसेको थियो । बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रुपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि एमाले सकारात्मक हुँदा प्रदेशसभा सञ्चालन हुन सकेको हो ।
सरकारले यसअघि भएको सम्झौता अनुसार एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँ बराबरको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेको बताउँदै आएको थियो । यसअघि सरकार र विपक्षी दलबीच पटक–पटक भएको छलफलबाट ठोस निष्कर्ष निस्कन नसकेपछि भदौ १८ गतेदेखि प्रदेश सभा बैठक स्थगित हुँदै आएको हो । आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा चारवटा विद्येयकहरु पेश भएको र दोस्रो बैठकमा शोक प्रस्ताव पारित गरी २९ भदौसम्मलाई बैठक स्थगित गरिएको छ ।
बागमती प्रदेशसभामा सरकारको तर्फबाट ४ वटा विधेयक पेश गरिएको छ । सरकारले विज्ञान प्रविधि तथा नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विज्ञान प्रविधि तथा नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका हुन् । त्यस अघि प्रदेशसभाको शून्य समयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
यससँगै, बागमती प्रदेश सभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । बागमती प्रदेशसभाका सभामुख पाठकले २९ गते साढे १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्र्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । क्यान्सर रोगको संक्रमणबाट केही दिनअघि उनको निधन भएको थियो । स्वर्गीय कार्र्की २०७४ मा प्रदेशसभा सदस्य थिए । उनको उपचारको क्रममा निधन भएकोप्रति प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित
गरेको हो ।
प्रदेशसभा बैठकमा ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुलेसरकारलाई विधेयक माथि थप विषयवस्तुहरु समावेश गरी परिमार्जन गर्न सुझावहरु दिएका छन् । बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए । बागमती प्रदेशसभा बैठक २ महिनापछि बसेको हो । सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको भन्दै आलोचना भइरहेको छ । तत्कालका लागि सरकारसँग बिजनेश नहुँदा प्रदेशसभा बैठक २९ गतेसम्मलाई धकेलिएको छ ।







